माक्र्सवादी–लेनिनवादी–माओवादी सौन्दर्य दर्शन

२०८३ भाद्र १ गते, सोमबार

हस्तबहादुर केसी

कार्ल माक्र्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्स (१८२०–१८९५) द्वारा माक्र्सवादको प्रतिपादन भएको आज १७८ वर्ष पुरा भइसकेको छ । माक्र्सवाद विश्व सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त हो । वर्गविहिन, राज्यविहिन मान्छेले मान्छेमाथि गरिने सबैखाले शोषण– उत्पीडनको अन्त्य भई समानतामूलक नौलो संसार रुपी वैज्ञानिक साम्यवादी सिद्धान्त हो ।

माक्र्सवाद परिवर्तनशील, विकासशील सर्वहारा क्रान्तिको विज्ञान हो । आज माक्र्सवादले आफ्नो विकासको क्रममा पहिलो विकासको क्रममा माक्र्सवादको विकास गरेको छ भने दोस्रो चरणमा लेनिनवादको विकास गरेको छ भने तेस्रो नयाँ र उच्च चरणमा माओवादको विकास गरिसकेको छ र यसको विकासको चरण निरन्तररुपमा अगाडि बड्नेछ । माक्र्सवाद–लेनिनवमद–माओवाद आज विश्व सर्वहारा वर्गको पथप्रदर्शक (मार्गदर्शक) सिद्धान्त बन्न पुगेको छ ।

माक्र्सवादको आफ्नै दर्शन छ । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । माक्र्सवादी दर्शन नै विश्व सर्वहारा श्रमजीवी वर्गको विश्वदृष्टिकोण हो । विश्वदृष्टिकोण भनेको संसारलाई बुझ्ने र त्यसलाई बदल्ने वैज्ञानिक हतियार हो ।

माक्र्सवाद–लेनिनवाद–माओवादको आफ्नै सौन्दर्य दर्शन छ, यो सामन्तवादी, पूँजीवादी संस्कार, संस्कृति र परम्परावादी कुरुप संस्कृति र सौन्र्दर्य शास्त्रको विरुद्धमा परिलक्षित छ । यसले वैज्ञानिक समाजवादी, साम्यवादी सुन्दर, व्यवहारवादी, उपयोगी र वैज्ञानिक सौन्र्दर्यचिन्तनको प्रतिनिधित्व गर्दछ र पुरानो सामन्ती तथा पूँजीवादी–साम्राज्यवादी राज्यसत्तालई खरानी पारेर त्यसको जगमा उभिएर विश्व सर्वहारा श्रमजीवी वर्गले खडा गर्ने वैज्ञानिक समाजवादी तथा साम्यवादी समाजलाई सुन्दर बनाउने यसको अभिभारा छ ।

 माक्र्सवादी–लेनिनवादी–माओवादी सौन्दर्य दर्शनलाई विश्व सर्वहारा श्रमजीवी वर्गले अलग–अलग गरी बुझ्न, अध्ययन गर्न र यसलाई व्यवहारीक जीवनमा अंगीकार गर्न जरुरी भएकोले यस दार्शनिक आलेख लेख्ने प्रयत्न गरिएको छ ।

माक्र्सवादी–लेनिनवादी–माओवादी सौन्दर्य दर्शनलाई अलग–अलग गरी बुझ्न र अध्ययन गर्न जरूरी छ ।

(क) माक्र्सवादी सौन्दर्य दर्शनः माक्र्सवादले लेनिनवाद र माओवादमा जुन उचाइ र नयाँ चरणमा विकास गरेर समृद्धशाली बन्यो, त्यसैगरी माओवादी सौन्दर्यदर्शनले पनि लेनिनवादी सौन्दर्य दर्शन र माओवादी सौन्दर्य दर्शनका रुपमा नयाँ चरण र उचाइमा विकास गरेको छ ।

माक्र्स र एंगेल्प्सले सौन्दर्य चिन्तनलाई उच्चस्थानमा पु¥याउन काम गर्नुभयो । उहाँहरुले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा सौन्दर्य चिन्तनको व्याख्या गर्नुभयो र के बताउनु भयो भने उत्पादक शक्ति र उत्पादन सम्बन्ध, अधार र उपरिसंरचनाबीच संघर्ष चल्दै जान्छ र यसको परिणाम क्रान्ति हो । राजनीति धर्म, दर्शन, कानून, सौन्दर्य, कला, संस्कृतिलगायत विचारधाराको विविध रुप उपरिसंरचनाका अंग हुन् । तथापि यी सबैको विकास आर्थिक विकासमा आधारित हुन्छ र यिनले एक अर्कोलाई प्रभावित पार्दछ । मान्छे स्वयं आफ्नो इतिहास, भाव–विचारका निर्माताका हुन् र वर्गसंघर्षसँगै साहित्य र कला पनि विकसित हुँदै जान्छ भन्ने व्याख्या माक्र्स–एंगेल्सले गर्नुभयो ।

माक्र्स–एंगेल्सले साहित्य र कलाको इतिहासको भौतिकवादी व्याख्या गर्नु हुँदै कलाको विकासमा श्रमको महत्वपूर्ण भूमिका रहेको छ र श्रमविभाजनको कारण श्रम र प्रतिभाबीच विभेद पैदा हुन्छ र पूँजीपति वर्गले सामन्ती काव्यात्मक सम्बन्धको अन्त्य गरेर क्रान्तिकारी भूमिका खेल्यो र यसैबीच पूँजीवादी कलाको ह्रास र समाजवादी कलाको विकास हुँदै जाने क्रममा जब मानिस साम्यवादमा पुग्दछ त्यो बेला श्रमविज्ञानको अन्त्यसँगै पराधिनता व्यावसायीक संकुचितता र विशिष्टतामा आधारित प्रतिभाको पनि अन्त्य हुनेछ भन्ने व्याख्या माक्र्स–एंगेल्सले गर्नुभएको छ ।

साथै कला साहित्यका मूल्य मान्यताको निर्धारण गर्ने क्रममा माक्र्स–एंगेल्सले कला प्रवृत्तिमूलक हुने कुरा बताउँदै उद्देश्य कर्ताको सिद्धान्तलाई प्रतिपादन गर्नुभयो । कला प्रतिबिम्बनको सिद्धान्तलाई नयाँ उचाइ प्रदान गर्नुहुँदै कला मूल्यको निर्धारण आर्थिक विकास र वर्ग संघर्षको सापेक्षता अनुरुप हुने कुरा बताउँदै उहाँहरुले समीक्षा सिद्धान्तको माक्र्सवादी जग हाल्ने काम गर्नुभयो । सौन्दर्यबोधको माक्र्सवादी सिद्धान्तको प्रतिपादन गर्नुभयो । माक्र्स–एंगेल्सले सौन्दर्यको स्रोत वस्तुलाई मान्दै सौन्दर्यको नियम अनुरुप वस्तुको सृष्टि हुने कुरा समेत बताउनुभयो ।

अतः सौन्दर्यचिन्तनलाई आदर्शवादको स्वर्गबाट भौतिकवादको धर्तीमा खडा गर्दै माक्र्स–एंगेल्प्सले त्यसलाई अधिभूतवादको पञ्जाबाट मुक्त गरेर यसै प्रक्रियाअन्तर्गत विश्वदृष्टिकोणको एक अंगको रुपमा माक्र्सवादी सौन्दर्यदर्शनको जन्म भयो ।

(ख) लेनिनवादी सौन्दर्यदर्शनः लेनिनले माक्र्सवादको थप विकास गर्दै साम्राज्यवाद एवं सर्वहाराक्रान्तिको युगको वर्गसंघर्षका संगीत समस्याहरुसँग जुझ्ने क्रममा लेनिवाद र लेनिनवादी सौन्दर्य दर्शनको गुणात्मक रुपले विकास गर्नुभयो । लेनिनवादी सौन्दर्य चिन्तनको मूल विशेषता भनेको पक्षधरताको सिद्धान्तको प्रतिपादन हो । लेनिनले साहित्य र कलाको क्षेत्रमा पूँजीवादी व्यक्तिवाद र साहेबी अराजकतावादको विरोधका साथै वर्ग तथा समाजनिरपेक्ष स्वतन्त्रताको विरोधमा कलाको पक्षधरताको सिद्धान्त प्रतिपादन गर्नुभयो । अतः लेनिनको समाजवादी–यथार्थवादी कलाको पक्षधरताको सिद्धान्तको सारलाई व्यक्तिवादी ‘म’ को संसारबाट सर्वहारावादी ‘हामी’ को संसारमा रुपान्तरणका अर्थमा ग्रहण गर्नु पर्दछ र माक्र्सवादी–लेनिनवादी सौन्दर्य चिन्तनको इतिहासमा यसको विशेष महत्व छ भन्ने कुरा बुझ्न जरूरी छ ।

(ग) माओवादी सौन्दर्यदर्शन एवं माओवादी मान्यता ः माओले वर्ग संघर्षमा भिड्दै जाँदा सौन्दर्य चिन्तनलाई उच्च रुपमा विकसित गर्नुभयो । माक्र्सवाद–लेनिनवादका अतिरिक्त यथार्थवादी कलाकार एवं चिन्तकहरु मेक्सिम गोर्की, लु स्युन आदिको पनि माओमा ठूलो प्रभाव परेको थियो । माओ स्वयं कवि र समीक्षक भएका नाताले पनि यस क्षेत्रलाई निकै उर्वर तुल्याउनुभएको थियो ।

माओले वर्गयुद्धको समस्याहरुको समाधान गर्दै अगाडि बढ्ने क्रममा कसरी समाधान गर्दै जाने र विचारधाराको क्षेत्रमा निम्न पूँजीवाद, पूँजीवाद, संशोधनवादलाई पछार्दै कसरी अगाडि बढ्ने भन्ने जस्ता चुनौती माओका सामु थिए र यीनको समाधान गर्ने क्रममा माओले सौन्दर्यचिन्तनको क्षेत्रमा पनि निकै महत्वपूर्ण योगदान दिनुभयो ।

माओवादी सौन्दर्यचिन्तनका मूल विशेषताहरु

माओवादी सौन्दर्य चिन्तनका मूल विशेषताहरु मूलतः दुई प्रकारका रहेका छन् ः– (क) सौन्दर्य चिन्तनको पद्धति (ख) सौन्दर्य चिन्तनको सिद्धान्त

सौन्दर्य चिन्तनको पद्धति

खासगरी माओले सौन्दर्य चिन्तनको पद्धति सबैखाले अधिभूतवादका विरूद्ध भौतिकवादी द्वन्द्ववादको अन्तर्विरोधका नियममा आधारित छ । जीवनको वास्तविकतालाई आधार बनाएर सोच्नुपर्ने कुरामा जोड दिनु हुँदै माओले परिभाषाबाट सुरू गरी पाठ्यपुस्तकमा समाधान खोज्ने चिन्तनको कडा विरोध गर्नुभएको छ । वर्ग समाजमा हरेक मानिसका विचार र भावहरु वर्गीय हुने तथा सत्य, प्रेम, मानवस्वभाव आदि कुने पनि चीज अमूर्त नहुने कुरा बताउनु हुँदै सौन्दर्य–मूल्यलाई शाश्वत हैन समाजसापेक्ष परिवर्तनशील हुने कुरा मान्नुभएको छ ।

माओले भन्नुभएको छ, ‘सत्य–असत्यका विरूद्ध छ र यसैसित लडेर विकसित हुन्छ । सुन्दर कुरुपका विरूद्ध र त्यो यसैसित लडेर विकसित हुन्छ । असल र खराबको कुरा पनि यस्तै हुन्छ ।’ (माओ भोल्युम पाँच, पृ. २३६)

माओले पूँजीवादी तथा निम्नपूँजीवादी विचारधाराबीचको संघर्ष निकै लामो समयसम्म चल्ने तथा सत्य–असत्य, असल–खराब र सुन्दर–कुरुपबीचको संघर्ष पनि निरन्तर चलिरहने कुरा बताउनुभएको छ । विचारधारा, साहित्य र कलाका क्षेत्रमा चल्ने यस प्रकारको संघर्षलाई माओले एकता, आलोचना र रुपान्तरणका आधारमा ‘सैयौँ पूmल फुल्न दिने, सैयौँ विचारशाखामा प्रतियोगिता चल्न दिने’ नीति अन्तर्गत समाधभान गर्दै नयाँ आधारको नयाँ एकता कायम गर्दै अगाडि बढ्ने कुरामा जोड दिनुभएको छ । एकातिर साहित्य र कलालाई राजनीतिको मातहत हुने र अर्कोतिर साहित्य र कलाले पनि राजनीतिलाई प्रभावित पार्ने कुरालाई माओले विशेष जोड दिएर बताउनुभएको छ । माओले उपरिसंरचनाका विधि, अंग र रुपहरु, जसमा कला, साहित्य र संस्कृति पनि पर्छ आदिले आपूm खडा भएको आर्थिक आधारलाई पनि बदल्छन् भन्नु हुँदै समाजवादी रुपान्तरणको निम्ति कला र साहित्यको पनि महत्वपूर्ण भूमिका हुने कुरा बताउनुभएको छ । अर्को कुरा माओले के पनि बताउनुभएको छ भने जब सामाजिक–आर्थिक आधार बदलिँदा पनि त्यसको सेवा गर्ने कलामा ‘परिवर्तन एक गम्भीर समस्या’ बन्दछ, त्यो बेला गम्भीर प्रकारको अध्ययन र जाँचपडतालमा जोड दिनुहुन्छ र त्यसको अन्तिम परिणाम महान् सर्वहारा सांस्कृतिक क्रान्ति नै हुन्छ भन्नुभएको छ ।

अतः कला, साहित्य र संस्कृतिलगायत विचारधाराका विभिन्न क्षेत्रमा विद्यमान निम्न पूँजीवादी, पूँजीवाद र संशोधनवादलाई निर्मूल पार्ने तथा विश्वदृष्टिकोणको समस्या समाान गर्ने उद्देश्य प्राप्तिका निम्ति नयाँ सौन्दर्य चेतनाले समृद्ध मानवजातिको निम्ति महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको विशेष महत्व रहेको छ ।

सौन्दर्य चिन्तनको सिद्धान्त

– माओवादी सौन्दर्यचिन्तनको सिद्धान्तका मूल्य विशेषताहरुलाई निम्न अनुसार चर्चा गर्न सकिन्छ ः– ‘साहित्य र कला कलाका लागि’ यी प्रश्नलाई माओले साहितय र कलाका आधारभूत सिद्धान्तको प्रश्न बताउनुभएको छ । लेनिनबाट समाधान भइसकेको पक्षधरताको सवालसँग जोडिएको यो विषयलाई माओले अभैm परिष्कृत तुल्याउँदै जनताका लागि लेख्ने भनेको के हो र त्यो कसरी लेख्ने ? यी दुवै सवाललाई माओले साहित्यको केन्द्रीय सवालको रुपमा लिनुभएको छ । साहित्य र कलाका गैरपक्षधरताको पक्षपोषण गर्ने तमाम गलत चिन्तनमाथि प्रहार गर्दै माओले भन्नुभएको छ– वास्तवमा ‘कलाका लागि कला’ को सिद्धान्त मान्ने कला वर्गहरुभन्दा माथि रहने कला र राजनीतिबाट अलग रहने अथवा स्वतन्त्र रहने कला नाभको कुनै चीज हुँदैन । सर्वहारा वर्गको कला साहित्य सम्पूर्ण क्रान्तिकारी कार्यको एक अंग हो । लेनिनको शब्दमा ‘त्यो सम्पूर्ण क्रान्तिकारी मेसिनको दाँती र पेजभैmँ समान छ । (माओत्सेतुङ संकलित रचनाएँ, ग्रन्थ ३, पृ. १४९ ।)

यहाँनेर गम्भीर रुपले ध्यान दिनुपर्ने कुरा के हो भने माओले सम्पूर्ण क्रान्तिकारी मेसिनको रुपमा साहित्य र कलालाई कसरी जोड्ने ? दुश्मनलाई नष्ट गर्ने र जनतालाई प्रशिक्षित तथा गोलबन्द गर्ने शक्तिशाली हतियारका रुपमा तिनको विकास कसरी गर्ने ? यी उद्देश्य प्राप्तिका लागि लेखक–कलाकारसँग सम्बन्धित वर्गदृष्टिविन्दु, प्रवृत्ति र दर्शक–पाठक, काम र अध्ययनका समस्याहरुको विश्लेषण गरी सही समाधान प्रस्तुत गर्नुभयो ।

– प्रतिबिम्नको सिद्धान्त ः साहित्य र कलालाई माओले सामाजिक जीवनको प्रतिबिम्बन हो भन्नुभयो र जनताको जीवनलाई कच्चा मालको खानीको रुपमा लिँदै त्यो अप्रशोधित भए पनि अत्यन्तै सजीवन, समृद्ध र मौलिक हुने कुरा प्रष्ट पार्नुभयो । माओ भन्नुहुन्छ– ‘मान्छेको जीवन र कला साहित्य सुन्दर हुन्छन् तर साहित्यिक रचनाहरु र कलाकृतिहरुमा प्रतिबिम्बित हुने मानव जीवन दैनिक वास्तविक जीवनभन्दा बढी उचो धरातलमा बढी तीव्र, बढी घनीभूत, बढी विशिष्टतापूर्ण, आदर्शको बढी नजिक तथा त्यसैले अझ बढी व्यापक प्रभावयुक्त हुन सक्छ र त्यो त्यस्तो पनि हुनुपर्दछ ।        (माओत्सेतुङ संकलित रचनाएँ, ग्रन्थ ३, पृ. १५३ ।)

–        कलामूल्यका मापदण्डको सिद्धान्तः माओ भन्नुहुन्छ, ‘कला साहित्यको समालोचनाका दुई मापदण्ड हुन्छन्– राजनीति र कलात्मक’ यहाँनेर माओले राजनीतिलाई प्रधान र कलात्मकलाई गौण बताउनुभएको छ । माओले भन्नुहुन्छ ‘सबै वर्गीय समाजमा सबै वर्ग यसै गर्दछन् । एउटा तथ्य के हो भने, कलात्मक प्रतिभाको दृष्टिले जतिसुकै उँचो भए पनि सर्वहारावर्गका कलाकृतिका निम्ति पूँजीपतिवर्गको ढोका सदा बन्द हुन्छ । त्यस्तै विषयवस्तु जति प्रतिक्रियावादी हुन्छ र त्यसको कलात्मक प्रतिभा जति नै उचो हुन्छ, त्यो कृति जनताको निम्ति त्यत्तिकै जहरिलो हुन्छ । त्यसलाई लत्याउन त्यत्तिकै जरूरी हुन्छ । वस्तुपष र कलापक्षकाबीचको यो अन्तरविरोधलाई माओले ह्रासकालीन शोषकवर्गीय कलासाहित्यको ‘एक विशेषता’ बताउनुभएको छ ।

माओले कलाकृतिमा असल र खराबबीचको अन्तरलाई कसरी छुट्याउने छ ? त्यसका निम्ति प्रयोजन र परिणाम अर्थात आम जनताको सेवा गर्ने प्रयोजन र जनताद्वारा समर्थित हुने परिणामबीचको द्वन्द्वात्मक एकतालाई आधार बनाउनुभएको छ । कलात्मक मापदण्डका बारेमा माओले स्तरीयता र लोकप्रियताको द्वन्द्वात्मक एकतामा जोड दिनुभएको छ । कलाको सम्प्रेषण सिद्धान्तसँग सम्बन्धित प्रश्न हो र यसलाई माओले जनताको सेवा गर्ने प्रयोग र जनताद्वारा समर्थित हुने परिणामसँग जोड्नुभएको छ ।

माक्र्सले कलाको विकासमा श्रमको महत्वपूर्ण भूमिका रहने कुरा बताउनु भएको छ । चेर्नोशेव्स्कीले ‘सुन्दर नै जीवन हो’ भनेका छन् । कुनै वस्तु किन सुन्दर मानिन्छ ? यसको जवाफमा माओले भौतिकवादी उपयोगितावादी अर्थात् ‘सर्वहारा क्रान्तिकारी उपयोगितावादी’ दृष्टि अवलम्बन गर्नुभएको छ र यसलाई पनि सरलता र स्तरीयताका प्रश्नसँग जोड्नुभएको छ । यथार्थवादी सौन्दर्यचिन्तकहरुले जीवनपरक कलालाई श्रमसँग जोड्ने गरेका छन् । वस्तुलाई सौन्दर्य सुखसँग जोड्ने तत्व नै उपयोगिता हो । किनकि जुन वस्तु जीवनोपयोगी छ, त्यही नै सुन्दर हुन्छ र वस्तुमा जीवनको उपयोगिता सृष्टि गर्ने मूल तत्व श्रम नै हो ।

माओले राजनीतिक मापदण्डलाई कलाको मूल्य निर्धारण गर्ने प्रधान मापदण्ड मान्नुभएको छ । प्रतिक्रियावादी राजनीतिक विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गर्ने रुपवादी शैलीका साथै प्रगतिशील राजनीतिक विषयवस्तुलाई पोष्टरबाजी वा नाराबाजी शैलीमा प्रस्तुत गर्ने चिन्तनको पनि माओले पूरा विरोध गर्नुभएको छ । माओ भन्नुहुन्छ, ‘हामी जुन चीजको माग गर्दछौँ त्यो हो राजनीति र कलाको एकता विषयवस्तु र रुपको एकता, क्रान्तिकारी राजनीतिक विषयवस्तु र यथासम्भव’ बढी पूर्ण कलात्मक रुपको एकता । (माओत्सेतुङ, संकलित रचनाएँ, ग्रन्थ ३, पृ. १४९)

–         सिर्जनशीलताको वर्गीय सिद्धान्तः अध्ययनको क्षेत्रमा माओले जनपक्षधर लेखक–कलाकारहरुका निम्ति माक्र्सवादको अध्ययन आवश्यक भएको बताउनुभएको छ । माक्र्सवादको अध्ययनले कलाकारहरुको सिर्जनशील मनस्थितिलाई नष्ट पारिदिन्छ भन्ने चिन्तनमाथि कडा प्रहार गर्दै माओले दुई कुरा प्रष्ट पार्नुभयो– पहिलो माक्र्सवाद र यथार्थवादबीचको सम्बन्ध र दोस्रो सिर्जनात्मक मनस्थितिको वर्गचरित्र, माओले भन्नुभयो– साहित्यिक र कलात्मक सिर्जनाको कार्यमा माक्र्सवादले यथार्थवादलाई हटाएर त्यसको स्थान लिन सक्दैन र त्यसलाई आपूmभित्र समावेश गर्दछ । माक्र्सवाद प्रकृति, समाज र चिन्तनका आम नियमहरुको अध्ययन गर्ने एक सामान्य विज्ञान हो तर यथार्थवादी कलाका वस्तुवादी नियमहरुको सौन्दर्यपरक ढंगले अध्ययन गर्ने एक विशिष्ट विज्ञान हो । माओको दृष्टिमा सिर्जनात्मक मनस्थितिसँग गाँसिएको माक्र्सवादको अध्ययन गर्ने कुरा अर्थात् माक्र्सवादको अध्ययन गर्नुको अर्थ संसार समाज र कलासाहित्यलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिक विश्वदृष्टिमा दर्शनशास्त्रको भाषण छाँट्न हिँड्नु ।’

– भावात्मक रुपान्तरणको सिद्धान्त ः क्रान्तिकारी कलासाहित्यको निर्माणका निम्ति अन्य वर्गबाट आएका बुद्धिजीवीहरुको पुनसंस्कार गर्नुपर्ने कुरामाथि विशेष प्रकाशन पार्नुहुँदै माओ भन्नुहुन्छ, ‘यसको अर्थ हो–भावनात्मक रुपान्तरण । एकबाट अर्को वर्गमा रुपान्तरण यस प्रकारको रुपान्तरण लेखक–कलाकार र जनता दुवैको निम्ति हो । माओवादी सौन्दर्यदृष्टि अनुरुप यस सिद्धान्तका बारेमा निम्नलाई गर्न सकिन्छ ः–

(१) ज्ञानको दुई छलाङ्गको सिद्धान्तका आधारमा । लेखक–कलाकारको जब भावनात्मक रुपान्तरण हुन्छ त्यो बेला उनीहरुले सामाजिक जीवनबाट प्राप्त सामग्रीलाई क्रान्तिकारी ढंगले प्रतिबिम्बित गर्दछन् र यसरी निर्मित कृतिहरुले जनताको भावनात्मक परिवर्तन गर्नमा राम्रो मद्दत पु¥याउँछन् ।

(२) विपरीतहरुको एकता र संघर्षका आधारमा सत्य–असत्य, असल–खराब, सुन्दर–असुन्दर, प्रेम–घृणा, उत्साह–अनुत्साह आदि वस्तुमा विपरीत पहलुबीच संघर्ष चलिरहन्छ र ती खास अवस्थामा एक अर्कोमा बदलिन्छ ।

(३) व्यक्तिको समूहमा, विशेषको सामान्यमा रुपान्तरणको आधारमा । जब दर्शक, पाठकहरु कलाकृतिको रसास्वादन गर्दछन्, त्यो बेला उनीहरुका विशिष्टता सामुहिकतामा रुपान्तरित हुन्छन् । लेखक, कलाकार, पाठक र दर्शकबीच तादाम्य हुन्छ ।

यसरी भावनात्मक रुपान्तरणबाट जुन आनन्द प्राप्त हुन्छ त्यो वर्गीय आनन्द हो । सच्चा सौन्दर्य….. भनेको हामी र यो एक सामुहिक आनन्द हो ।

– माओवादी सौन्दर्य चिन्तनको महत्व ः माक्र्स–एंगेल्स र लेनिनपछि सौन्दर्यचिन्तनको व्याख्या र विकास गर्ने काममा अनेकौँ चिन्तनहरुको अवश्य नै महत्वपूर्ण भूमिका रहिआएको छ तर यसलाई नयाँ आयाम दिने काममा माओको योगदान भने निकै उच्च रहेको छ ।

आज यसरी माक्र्सवादी सौन्दर्यचिन्तनको माओवादसम्म विकास हुँदै एकातिर यसले मानवजातिले आर्जन गरेको यस क्षेत्रका सर्वोत्तम सिद्धान्तहरुलाई पचाएर, आपूmमा समेटेको छ भने अर्कोतिर तमाम विषाक्त झारपात र अवैज्ञानिक कुराहरुलाई पूरै मिल्काइदिएको छ । अतः माक्र्सवादले वैज्ञानिक सौन्दर्यशास्त्र होइन आदर्शवाद एवं अधिभूतवादमा आधारित बुर्जुवा सौन्दर्यशास्त्रको उपेक्षा गरेको छ र त्यसका विरूद्ध खडा भएको छ ।

आज नेपाली कलासाहित्यका क्षेत्रमा एकातिर सामन्ती तथा पूँजीवादी प्रतिक्रियावादी विचारधारा र अर्कोतिर माक्र्सवादी–लेनिनवादी–माओवादी विचारधाराबीच भीषण संघर्ष चलिरहेको छ ।

 आज नेपाली कला साहित्यका क्षेत्रमा एकातिर सामन्ती तथा पूँजीवादी–प्रतिक्रियावादी विचारधारा र अर्कोतिर माक्र्सवादी–लेनिनवादी–माओवादी विचारधाराबीच भीषण संघर्ष चलिरहेको वर्तमान परिवेशमा पाठकहरुका लागि बढी उपयोगी हुनेछ भन्ने आशाका साथ यो सौन्दर्य दर्शनका विषयमा लेखिएको छ ।

(केसी ः वरिष्ठ माक्र्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)

प्रतिक्रियाहरु

[anycomment]