कम्युनिष्ट आन्दोलनका कमजोरी र सुधारबारे केही कुरा

२०८३ कार्तिक २५ गते, बुधबार
डा. केशव देवकोटा



नेपालको कम्युनिष्ट आन्दोलन क्रमशः सुस्त बन्दैगएको धेरैले अनुभव गरेका छन् । कतिपयले त आगामी १५ वर्षमा नेपालमा कम्युनिष्ट नामको पार्टी नै नरहने टिप्पणी पनि गरेका छन् । यस्तो अवस्थामा नेपालका कम्युनिष्ट पार्टीहरुले देशको खास परिस्थिति र आफ्ना कार्यभारबारे गम्भिर ढंगले चिन्तन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यो आलेखमा नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएको सुस्तता र सुधारबारे बिवेचना गर्ने प्रयास गरिएको छ । जतिनै सुस्तता आएको भनिएपनि नेपालको कम्युनिष्ट आन्दोलनले देशको राजनीतिक, सामाजिक तथा आर्थिक रुपान्तरणमा ऐतिहासिक योगदान पु¥याएको स्पष्ट छ । सामन्तवाद, निरंकुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाको विरोधमा भएका अधिकांश संघर्षहरुमा कम्युनिष्ट पार्टीहरुको महत्वपूर्ण भूमिका रहेको कुरालाई कसैले पनि नकार्न सक्दैन । जनयुद्ध, जनआन्दोलन, ०७२ को संविधान निर्माण तथा लोकतान्त्रिक गणतन्त्र स्थापनामा पनि कम्युनिष्ट पार्टी र शक्तिहरुकै उल्लेखनीय योगदान रहेको थियो । तर विडम्बना के छभने लामो संघर्ष र ठूलो जनसमर्थन प्राप्त गरेको नेपाली कम्युनिष्ट आन्दोलन आज वैचारिक, राजनीतिक र संगठनात्मकरुपमा मन्दीको अवस्थामा पुगेको छ । जसका पछाडि केही गम्भीर कारणहरु रहेका छन् । जसकाबारेमा संश्लेषण र छलफल आजको प्रमुख आवश्यकता भएको छ ।
पहिलो कुरा नेपालका कम्युनिष्ट पार्टीहरुमा वैचारिक विचलन र सैद्धान्तिक अस्पष्टता रहेको छ । कम्युनिष्ट आन्दोलनको मूलआधार वर्गीय मुक्ति, सामाजिक न्याय, समानता र समाजवादी रुपान्तरण हो । तर पछिल्लो समयमा नेपालका कम्युनिष्ट पार्टीहरुमा माक्र्सवाद, लेनिनवाद र माओवादको सिर्जनात्मक प्रयोगभन्दा सत्ताकेन्द्रित राजनीतिक अभ्यास हावी हुँदैगएको छ । सिद्धान्त र व्यवहारकाबीचमा ठूलो अन्तर देखिनथालेको छ । समाजवादको लक्ष्य अस्पष्ट र कर्मकाण्डी बन्दैगएको छ । वर्गसंघर्ष, उत्पादन सम्बन्धको रुपान्तरण र श्रमिक वर्गका मुद्धा पनि कमजोर भएका छन् । वैचारिक बहस तथा अध्ययनको परम्परा खुम्चिँदै गएको देखिएको छ । त्यसैगरी नेपालको कम्युनिष्ट आन्दोलनमा पद तथा सत्ताकेन्द्रित राजनीति र अवसरवाद मौलाउँदै गएको देखिएको छ । जनताको मुक्ति र सामाजिक रुपान्तरणभन्दा सरकार निर्माण, मन्त्री पद, सत्ता समीकरण र निर्वाचनको जोडघटाउ प्राथमिकतामा पर्नथालेको स्पष्ट छ । आपूmलाई गैरसंसदवादी र क्रान्तिकारी बताउने पार्टीहरुमासमेत सत्ताकै वरिपरी घुम्ने रोग लागेको छ । विचार र सिद्धान्तभन्दा पद र सत्ता टिकाउने गणित महत्वपूर्ण बन्न थालेपछि कम्युनिष्ट पार्टीहरुको क्रान्तिकारी छवि कमजोर हुनु कुनै आश्चर्यको विषय होइन । यसैले कार्यकर्ता र आम जनतामा निराशा पैदागरेको हो । त्यसैगरी नेतृत्वमा व्यक्तिवाद र गुटबन्दी पनि तुलनात्मकरुपमा बढेर गएको देखिन्छ ।
कम्युनिष्ट आन्दोलन सामूहिक नेतृत्व, जनवादी केन्द्रीयता र सामूहिक निर्णय प्रणालीमा आधारित हुनुपर्ने हो । तर व्यवहारमा केही नेताहरुको व्यक्तिगत महत्वकांक्षा, नेतृत्वमा निरन्तर रहिरहने चाहना र गुटगत स्वार्थ प्रभावशाली बनेको देखिएको छ । नेतृत्व हस्तान्तरण र पुस्तान्तरण सहजै हुनसकिरहेको छैन । जसले आन्तरिक लोकतन्त्रलाई पनि कमजोर बनाउने काम गरेको छ । फरक विचार राख्नेहरुलाई उचित स्थान नदिनु र पार्टी विभाजन र पुनःएकीकरणको अस्थिर चक्र चलिरहनुले संगठनात्मक एकता र जनविश्वास दुवैलाई कमजोर बनाएका छन् । त्यसैगरी वर्गीय आधार पनि कमजोर भएको देखिएको छ । कम्युनिष्ट राजनीति र आन्दोलनको वास्तविक शक्ति भनेकै मजदुर, किसान, भूमिहीन, सुकुम्बासी, उत्पीडित समूदाय र श्रमजीवी जनता हुन् । तर पछिल्लो समयमा पार्टीहरुको ध्यान शोषित पीडितहरुको दैनिक समस्या समाधान गर्नुभन्दा निर्वाचन र सत्ताको राजनीतिमा बढी केन्द्रित हुँदैगएको देखिएको छ । मजदुरका न्यूनतम ज्याला, किसानका उत्पादनको उचित मूल्य, भूमिहीनको भूमि अधिकार, बेरोजगारी र श्रम पलायनजस्ता मुद्धामा प्रभावकारी आन्दोलन निर्माण हुन नसक्नु पनि कम्युनिष्ट आन्दोलनमा हालकोजस्तो मन्दी आउनुको कारण हो । त्यसैगरी कम्युनिष्ट पार्टीहरुमा समेत भ्रष्टाचार र नैतिक संकट देखिने गरेको छ । नेपालका कम्युनिष्टहरुले राजनीतिक इमान्दारी, सादगी, पारदर्शिता र जनउत्तरदायित्वको उदाहरण प्रस्तुत गर्न सकेको देखिएको छैन । कतिपय कम्युनिष्ट पार्टीको नेतृत्वसँग जोडिएका भ्रष्टाचारका काण्डहरु, आर्थिक अपारदर्शिता, नातावाद, कृपावाद र सार्वजनिक पदको दुरुपयोगसम्बन्धी विवादले आन्दोलनको नैतिक आधार नै कमजोर बनाएको अवस्था छ । जनताले कम्युनिष्ट र गैरकम्युनिष्ट राजनीतिक शक्तिबीचको व्यवहारमा स्पष्ट भिन्नता अनुभव गर्न समेत नसक्ने अवस्थाको सिर्जना भएको छ ।
त्यसैगरी कम्युनिष्ट पार्टीहरुमा युवा पुस्तासँगको सम्बन्ध सन्तुलित हुनसकेको छैन । आजको युवा पुस्ता रोजगारी, उद्यमशीलता, प्रविधि, सुशासन, अवसर र सम्मानजनक जीवनको खोजीमा छ । तर कम्युनिष्ट पार्टीहरुले नयाँ पुस्ताको भावना, आक्यांक्षा र राजनीतिक चेतनालाई पर्याप्तरुपमा सम्बोधन गर्न सकिरहेका छैनन् । पुरानो राजनीतिक भाष्य, परम्परागत संगठनात्मक शैली र नेतृत्वको पुस्तान्तरणमा देखिएको उदासिनताले पनि युवाहरुमा कम्युनिष्ट आन्दोलनप्रति आकर्षण घटाएको देखिन्छ । त्यसैगरी यसअघि भएका जनयुद्ध र जनआन्दोलनका उपलब्धिको संस्थागत रुपान्तरण नहुनु पनि अर्को समस्या रहेको छ । कम्युनिष्ट आन्दोलनले ठूलो बलिदान र संघर्ष गरेर नेपालमा राजनीतिक परिवर्तन ल्याएको हो । तर उक्त परिवर्तनलाई जनताको जीवनस्तर, उत्पादन प्रणाली, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायमा रुपान्तरण गर्ने काम अपेक्षाअनुसार हुनसकिरहेको छैन । राजनीतिक परिवर्तनपछि आर्थिक तथा सामाजिक रुपान्तरणको स्पष्ट र प्रभावकारी कार्यक्रम लागू हुननसक्दा जनतामा परिवर्तनप्रतिको विश्वाससमेत कमजोर भएको देखिएको छ । त्यसैगरी नेपालका कम्युनिष्टहरुले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट पर्याप्त शिक्षा लिन पनि सकेका छैनन् । विश्वव्यापीरुपमा समाजवादी आन्दोलनले भोगेका सफलता र असफलताको गम्भीर समीक्षा आवश्यक थियो र छ पनि । नेपालका कम्युनिष्टहरुले सोभियत संघको विघटन, पूर्वी युरोपको राजनीतिक परिवर्तन, चीनको आर्थिक सुधार र ल्याटिन अमेरिकाका वामपन्थीहरुका अनुभवबाट शिक्षा लिनुपर्ने थियो । तर नेपाली कम्युनिष्ट आन्दोलनमा अन्तर्राष्ट्रिय अनुभवको गहिरो विश्लेषणभन्दा परम्परागत मान्यताको पुनरावृत्ति र सतही वैचारिक बहस बढी देखिने गरेको छ । त्यसैगरी नेपालमा कम्युनिष्ट पार्टीहरुको विभाजन र एकताको श्रृंखला अनपेक्षित ढंगले चल्नेगरेको छ ।
जसले कम्युनिष्ट राजनीतिलाई अस्थिर बनाएको स्पष्ट छ । नेपालमा कम्युनिष्ट पार्टीहरुको संख्या धेरै हुनु पनि समस्याका कारणमध्ये एक हो । विचार, कार्यदिशा र राजनीतिक कार्यक्रमको स्पष्टताबिना हुने विभाजनले जहिले पनि समस्याको सिर्जना गराउने गर्दछ । पार्टी एकता पनि कतिपय अवस्थामा वैचारिक तथा संगठनात्मक एकीकरणभन्दा निहित स्वार्थ र दाउपेचमा आधारित हुनेगरेका छन् । जसले जनतामा कम्युनिष्ट पार्टीहरु सिद्धान्तभन्दा पद र शक्तिका लागि एकता तथा विभाजन गर्छन् भन्ने नकारात्मक धारणाको विकास गरेको देखिएको छ । त्यसैगरी नेपालका कम्युनिष्ट पार्टीहरुमा उत्पादन र आत्मनिर्भरताको प्रश्नमा पनि कतिपय कमजोरीहरु रहने गरेका छन् । कम्युनिष्ट आन्दोलनले राष्ट्रिय अर्थतन्त्र, कृषि क्रान्ति, औद्योगिकीकरण, रोजगारी सिर्जना र आत्मनिर्भर उत्पादन प्रणालीलाई प्राथमिकता दिनुपर्ने हो । तर नेपाली कम्युनिष्ट नेतृत्वले उत्पादनमुखी अर्थतन्त्र निर्माणको भरपर्दो वैकल्पिक मोडेल प्रस्तुत गर्न नसकेको देखिएको छ । फलस्वरुप बेरोजगारी, वैदेशिक पलायन, आयातमुखी अर्थतन्त्र र आर्थिक परनिर्भरता बढ्दै गएको छ । उपरोक्त सबै कारणले गर्दा अब नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी पुनर्जीवित गर्ने ? भन्ने सबैमा चिन्ता र चासो देखिनथालेको छ । सामान्य संगठनात्मक फेरबदललेमात्र समग्र कम्युनिष्ट राजनीति र आन्दोलनमा आएको मन्दीको अवस्थालाई अन्त्य गर्न–गराउन सकिँदैन । त्यसका लागि वैचारिक, राजनीतिक, संगठनात्मक, आर्थिक र सांस्कृतिक क्षेत्रमा गम्भीर पुनर्गठन आवश्यक हुन्छ ।
माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपाली समाजको ठोस परिस्थितिअनुसार नयाँ समाजवादी कार्यदिशा निर्माण गर्ने तिर सबैको प्रयास आवश्यक छ । त्यसैगरी सामूहिक नेतृत्व, आन्तरिक लोकतन्त्र, नेतृत्वको पुस्तान्तरण र उत्तरदायित्व सुनिश्चित गर्ने प्रयास पनि हुनु जरुरी छ । आजको अवस्थामा वर्ग पक्षधरतामा पनि ख्याल गरिएको हुनुपर्दछ । मजदुर, किसान, युवा, महिला, दलित, उत्पीडित समुदाय र श्रमजीवी जनताका वास्तविक मुद्धामा आधारित आन्दोलन निर्माण गर्नेतिर सबैको ध्यान जान आवश्यक छ । त्यसैगरी नैतिक राजनीतिक अभ्यासमा पनि ध्यानदिन सक्नुपर्दछ । भ्रष्टाचार, नातावाद, कृपावाद र अवसरवाद विरुद्ध पार्टीभित्रै कठोर संघर्ष चलाएर अनुशासन कायम गरिएको हुनुपर्दछ । त्यसैगरी कम्युनिष्ट पार्टीहरुले उत्पादनमुखी समाजवादी कार्यक्रममा पनि जोडदिनु आवश्यक छ । कृषि आधुनिकीकरण, औद्योगिकीकरण, रोजगारी र राष्ट्रिय आत्मनिर्भरतालाई प्राथमिकता दिने होभने पार्टी राजनीतिले फड्को मार्न सक्छ । कम्युनिष्ट आन्दोलनको पुनर्जागरण नेताहरुको पद जोगाउने वा पार्टीको नाम परिवर्तन गर्ने प्रक्रियाबाट मात्र सम्भव छैन । जुन श्रमजीवी जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउने राजनीतिक अभ्यासबाट मात्र सम्भव छ । त्यसैले यहाँका सबै पार्टीले आफै भित्रको कमजोरीलाई केलाउँदै आफैलाई सुधार गर्ने तिर लाग्ने होभने समग्र कम्युनिष्ट आन्दोलनमा सुधार भएर वास्तविक जनताको सत्ता स्थापना हुन्छ । यो आजको प्रमुख विचारणीय पक्ष हो ।

प्रतिक्रियाहरु

[anycomment]