साढे २ अर्ब रुपैयाँ बराबरको भाइ मसला भित्रियो !
काठमाडौँ । भन्सार विभागको तथ्याङ्क अनुसार तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो तीन महिनामा मात्रै करिब साढे २ अर्ब रुपैयाँ बराबरको भाइ मसला नेपाल भित्रिएको छ । चाडपर्वमा अत्यधिक खपत हुने ओखर, काजु, बदाम, किसमिस र नरिवलको आयातका लागि मात्रै चालु आर्थिक वर्षको तीन महिनामा २ अर्ब ४४ करोड १४ लाख ७८ हजार रुपैयाँ बाहिरिएको हा । त्यसबाट राज्यले ५९ करोड ३३ लाख १५ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात भएका पाँच वस्तु (ओखर, बदाम, ओखर, काजु र किसमिस)हरूको विवरण हेर्दा सबैभन्दा धेरै रकम ओखर आयातमा खर्च भएको देखिन्छ । यस अवधिमा ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको १५ लाख २५ हजार २५० किलोग्राम ओखर आयात भएको छ । जसबाट १५ करोड ८९ लाख ७० हजार रुपैयाँ राजस्व उठेको छ । ओखर मुख्यतया चीनबाट ४७ करोड २ लाख र अमेरिकाबाट १८ करोड ३६ लाख रुपैयाँको आयात गरिएको हो ।
त्यस्तै, भाइ मसला र पूजाआजा दुवैमा अनिवार्य मानिने नरिवल परिमाणका हिसाबले सबैभन्दा धेरै आयात भएको छ । तीन महिनामै १ करोड १४ लाख ६ हजार २०७ किलोग्राम नरिवल ५६ करोड ६० लाख ७० हजार रुपैयाँमा आयात भएको छ भने यसबाट ११ करोड १० लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । नरिवलको आयात पूर्ण रूपमा भारतमा निर्भर छ ।
यसैगरी, बदाम (हाडे र कागजी) तर्फ ५ लाख ९ हजार ७८ किलोग्राम आयात भएको छ । जसको आयात मूल्य ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ छ भने यसबाट ११ करोड ६५ लाख ५३ हजार रुपैयाँ राजस्व उठेको छ । बदामको मुख्य आयात संयुक्त राज्य अमेरिकाबाट मात्रै ४७ करोड ४२ लाख रुपैयाँ बराबरको भएको छ ।
भाइ मसलामा लोकप्रिय काजु यस अवधिमा ४६ करोड ५७ लाख २६ हजार रुपैयाँको (४ लाख ६९ हजार ५१६ किलोग्राम) आयात भएको छ । यसबाट राज्यले १३ करोड ९५ लाख ५२ हजार रुपैयाँ राजस्व पाएको छ । काजु मुख्यतया भारतबाट २५ करोड २८ लाख र भियतनामबाट २१ करोड २७ लाख रुपैयाँको भित्रिएको छ ।
त्यस्तै, किसमिसतर्फ ७ लाख ३३ हजार ५९८ किलोग्राम आयात हुँदा २७ करोड ६३ लाख ४९ हजार रुपैयाँ बाहिरिएको छ भने ६ करोड ७१ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । किसमिसको मुख्य हिस्सा चीनबाट १९ करोड ९१ लाख र भारतबाट ७ करोड ७० लाख रुपैयाँको आयात भएको छ ।
यस्तै ओखर पनि १५ लाख २५ हजार किलो आयात भएको छ । जसको मूल्य ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको रहेको छ । ओखर आयातबाट १५ करोड ८९ लाख ७० हजार बराबरको राजस्व संकलन भएको तथ्यांक छ ।
गत आर्थिक वर्ष (२०८२/०८३) भरको तथ्याङ्क हेर्दा नेपालमा सुक्खा फलफूल तथा नरिवलको आयात अझै धेरै भएको देखिन्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष कुल ३ करोड ६८ लाख ४८ हजार ४४५ किलोग्राम यस्ता वस्तुहरू आयात भएका थिए । जसको कुल आयात मूल्य ४ अर्ब ४४ करोड ६६ लाख ७७ हजार रुपैयाँ रहेको थियो । सो आयातबाट सरकारले ९२ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
गत आर्थिक वर्षमा रकमका आधारमा सबैभन्दा ठुलो हिस्सा किसमिसले ओगटेको थियो । वर्षभरिमा ३३ लाख १० हजार ३३ किलोग्राम किसमिस आयात गर्दा १ अर्ब २२ करोड ९९ लाख ५९ हजार रुपैयाँ बाहिरिएको थियो भने यसबाट २९ करोड ९० लाख ८८ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । किसमिसको आयात लगभग एकलौटी रूपमा चीनबाट भएको थियो । चीनबाट मात्रै १ अर्ब २० करोड ३ लाख १६ हजार रुपैयाँ बराबरको (३२ लाख २६ हजार केजीभन्दा बढी) किसमिस नेपाल आएको थियो भने भारतबाट २ करोड ९२ लाख रुपैयाँको मात्र आयात भएको थियो । बदाम आयातमा गत आर्थिक वर्ष ९० करोड १७ लाख ४ हजार रुपैयाँ खर्च भएको थियो । यस अवधिमा १० लाख ४१ हजार ९१३ किलोग्राम बदाम भित्रिँदा राज्यले २१ करोड ९६ लाख २७ हजार रुपैयाँ राजस्व उठाएको थियो । बदाम आयातको मुख्य स्रोत संयुक्त राज्य अमेरिका हो । अमेरिकाबाट मात्रै बोक्राविनाको बदाम ८४ करोड ४४ लाख रुपैयाँ र बोक्रासहितको बदाम ३ करोड ६९ लाख रुपैयाँ गरी कुल ८८ करोड १३ लाख रुपैयाँभन्दा बढीको आयात भएको थियो । बाँकी केही परिमाण चीन र भारतबाट आयात भएको थियो ।
गत आर्थिक वर्ष कुल ९ लाख ५३ हजार ९४९ किलोग्राम काजु नेपाल भित्रिएको थियो । जसको आयात मूल्य ८७ करोड ७० लाख २३ हजार रुपैयाँ थियो । यसबाट राज्य कोषमा २६ करोड ३३ लाख ९४ हजार रुपैयाँ राजस्व जम्मा भएको थियो । काजु आयातमा भियतनाम सबैभन्दा अगाडि देखिएको छ । भियतनामबाट मात्रै ४१ करोड ३६ लाख ८८ हजार रुपैयाँ (४ लाख ४७ हजार केजी) को काजु आएको थियो भने भारतबाट ३३ करोड ६९ लाख रुपैयाँभन्दा बढीको काजु आयात भएको थियो ।
यसबाहेक आइभोरी कोस्टबाट ५ करोड ३५ लाख, चीनबाट ३ करोड ८ लाख, बेनिनबाट २ करोड २६ लाख र नाइजेरियाबाट १ करोड ४२ लाख रुपैयाँ बराबरको काजु आयात भएको थियो । परिमाणको दृष्टिले गत वर्ष पनि नरिवल नै शीर्ष स्थानमा रह्यो । वर्षभरिमा ३ करोड ११ लाख ७७ हजार ८३२ किलोग्राम नरिवल आयात हुँदा १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ बाहिरिएको थियो भने यसबाट ५ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । नरिवलको आयात लगभग शतप्रतिशत भारतबाट भएको तथ्याङ्क छ ।
गत आर्थिक वर्षमा बोक्रा नभएको ओखर ३ लाख ६४ हजार ७१८ किलोग्राम आयात भएको थियो । जसको मूल्य ३७ करोड ९५ लाख ८१ हजार रुपैयाँ थियो । यसबाट सरकारलाई ९ करोड २२ लाख ७६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । ओखर आयातको लगभग सम्पूर्ण हिस्सा (३७ करोड ९४ लाख रुपैयाँ) चीनबाट मात्र भित्रिएको थियो ।
यसरी चालु आर्थिक वर्षको चाडपर्व लक्षित तीन महिनामै गत वर्षको कुल वार्षिक आयातको ५० प्रतिशतभन्दा बढी रकम बराबरको सुक्खा फलफूल आयात भइसकेको देखिन्छ । नेपालमा चाडपर्वका बेला मसला तथा ड्राइफ्रुट्सको माग धान्न बर्सेनि अर्बौं रुपैयाँ चीन, अमेरिका, भारत र भियतनामजस्ता मुलुकमा जाने गरेको छ ।
