संसदको हिउँदे अधिवेशन अन्त्य हुँदै

काठमाडौँ । गत माघ १८ गते सुरु भएको संसदको हिउँदे अधिवेशन चैत २० गते अधिवेशन अन्त्य गर्ने तयारी भएको बताइएको छ । सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने भएकाले त्यसअघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो । अन्तर व्यवस्थापिका संघको सम्मेलन आगामी अप्रिल ५ देखि ९ तारिखस (चैत २३ गतेदेखि २७ गतेसम्म) हुँदै छ ।
सभामुख विदेश जानु अघि नै पाँच वटा प्रतिस्थापन विधेयक संघीय संसदका दुवै सदनबाट पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण गरिसक्ने तयारी छ । सम्भवतः चैत १८ गते राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने र अधिवेशन अन्त्य गरी सभामुख विदेश जाने तयारी रहेको बुझिएको छ ।
हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुन्छ । बजेट पेश हुनु एक महिना अगाडि सदनमा प्रि-बजेट छलफल गरिन्छ । एक अधिवेशनदेखि अर्को अधिवेशनबीच कम्तीमा १५ दिनको समय आवश्यक हुने व्यवस्था भएकाले चैत तेस्रो साता नै हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो ।