अमेरिकाद्वारा एमसीसीलाई निरन्तरता दिने उद्घोष

२०८१ चैत्र १० गते, आईतवार

काठमाडौँ । अमेरिकाले नेपालमा सञ्चालित एसीसी परियोजनालाई निरन्तरता दिने उद्घोष गरेको छ । अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला त्यहाँको सरकारले एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको एमसीए नेपालले जनाएको छ । एमसीए नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ- अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ, यस अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति भने कुनै संकेत गर्दैन। ’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशलाई अनुशरण गर्दै एमसीसीले लिएको कदमले नेपालको परियोजना अन्योलमा परेको थियो । एमसीसीले गत फागुन २ मा नेपाल सरकारलाई पत्राचार गरेर भुक्तानी रोक्ने जानकारी दिएको थियो । अहिले त्यही स्थगित परियोजना पुन: सुरु हुने भएको छ । पछिल्लो सूचनामा पनि एमसीसी अन्तर्गतका परियोजना पूरा हुन्छन् कि हुँदैनन् भन्ने प्रस्ट छैन ।
एमसीए नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘एमसीए नेपाल अमेरिकी सरकारको वैदेशिक सहायता सम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गर्दै आफूबाट हुनुपर्ने काम भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गरिरहेको छ। ‘
एमसीए नेपाल एमसीसीअन्तर्गतको कार्यक्रम हो । ०७४ भदौ २९ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता अनुसार ०८० भदौ १३ देखि परियोजना कार्यान्वयन सुरु भएको हो । सुरुआती सम्झौतामा ६९ करोड ७० लाख डलर (करिब ९२ अर्ब) परियोजनामा अमेरिकी सरकारले ५० करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर व्यहोर्ने उल्लेख छ । गत पुसमा अमेरिकी सरकारले परियोजनाका लागि थप ५ करोड डलर दिने घोषणा गरेको थियो ।
एमसीए नेपालअन्तर्गत १८ किलोमिटर बुटवल–गोरखपुर प्रसारण लाइन, ४ सय केभी नयाँ बुटवल सबस्टेसन, ४ सय केभी नयाँ दमौली सबस्टेसन र ४ सय केभी रातामाटे सबस्टेसन निर्माणाधीन छन् । एमसीए नेपालका अनुसार २९७ किमि प्रसारण लाइन र धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर ठेक्का आह्वान गरी प्राप्त प्रस्तावको मूल्यांकन भइरहेको छ ।
एमसीए नेपालले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारण लाइन निर्माण गर्न १ करोड २३ लाख ६० हजार अमेरिकी डलरमा ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ भदौ १४ मा सम्झौता गरेको थियो । उक्त प्रसारण लाइन २१ महिनामा सकाउने लक्ष्यका साथ प्रारम्भिक चरणका काम भइरहेको एमसीए नेपालले जनाएको छ । बुटवल–गोरखपुर प्रसारण लाइनका लागि अहिलेसम्म ट्रान्सरेल लाइटिङ कम्पनीलाई १६ करोड ७९ लाख ३२ हजार ९६२ रुपैयाँ भुक्तानी दिएको एमसीए नेपालको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]