भारतद्वारा नेपालकाे सीमासम्बन्धी दावी अस्विकार

२०८३ बैशाख २१ गते, सोमबार


काठमाडौँ । भारतले नेपाल सरकारले राखेकाे सीमा सम्बन्धी दावीहरूलाई अस्विकार गर्दै नेपाली भूमि लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक मार्ग भएको दावी गरेकाे छ। नेपालको परराष्ट्र मन्त्रालयले कैलाश मानसरोवर यात्राको सन्दर्भमा व्यक्त गरेको सीमा सम्बन्धी धारणाकाे बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आइतबार साँझ सप दावी गरेका हुन् ।
प्रवक्ता जैसवालले यस विषयमा भारतको अडान स्पष्ट र सुसंगत रहेको समेत दावी गर्दै लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि स्थापित मार्ग भएकाे समेत बताए । उनले दशकौंदेखि यो मार्गबाट यात्रा भइरहेको बताउदै यो कुनै नयाँ विकासक्रम नभएकाे जिकिर गरे ।
नेपालले गरेको दावीका सम्बन्धमा भारतले ती दावीहरू न्यायोचित नभएको र ऐतिहासिक तथ्य एवं प्रमाणमा आधारित नभएको जिकिर गरेको छ। प्रवक्ता जैसवालले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै क्षेत्रीय दावीहरूको यस्तो एकपक्षीय र कृत्रिम विस्तार टिकाउ हुन नसक्ने समेत जिकिर गरका हुन् ।
दुवै मुलुकले आ-आफ्नो अडानमा अडिग रहेको बताए पनि कूटनीतिक संवादको ढोका भने खुला राखेका छन्। नेपालले मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै वार्तामार्फत निकास खोज्नुपर्नेमा जोड दिएको छ भने भारतले पनि नेपालसँगका सबै द्विपक्षीय विषय र सहमति हुन बाँकी सीमा विवादहरूलाई रचनात्मक कुराकानी र कूटनीतिक माध्यमबाट समाधान गर्न आफू तयार रहेको उल्लेख गरेको छ।
पछिल्लो समय लिपुलेकलाई लिएर देखिएको यो कूटनीतिक टकरावले दुई देशबीचको सीमा विवादलाई पुन: चर्चाको केन्द्रमा ल्याएको छ, जसलाई समाधान गर्न दुवै पक्षले ऐतिहासिक दस्ताबेज र आपसी विश्वासका आधारमा ठोस संवाद गर्नु आवश्यक देखिएको छ।

प्रतिक्रियाहरु

[anycomment]