रास्वपाकै सांसद सरकारको कार्यसम्पादनप्रति असन्तुष्ट
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य बुद्धिप्रसाद पन्तले वर्तमान सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै परिवर्तनको अपेक्षा अनुरूप नतिजा देखिन नसकेको बताएका छन्। आज प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो अवस्थामा जनताले कसरी परिवर्तनको महसुस गर्न पाउलान् भनेर प्रश्न गरेका हुन् ।
सांसद पन्तले गत शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत बिरामीको मृत्यु भएको विषय उठाए । त्यसपश्चात उत्पन्न तनावपूर्ण स्थिति, डाक्टरमाथि भएको हातपात र त्यसपछि देशैभरका चिकित्सकहरू आन्दोलित भएको घटनाको विषय सदनमा राख्दै भने- ‘यस घटनाक्रममा कहाँ–कहाँ कस-कसबाट कसरी–कसरी गल्ती र लापरबाही हुन पुगेको छ, ती सबैको मिहीन अनि गहन रूपमा अध्ययन गरी देखिएका दोषीहरूलाई कडा भन्दा कडा कारबाहीको लागि जोडदार माग गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।’
सांसद पन्तले शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले पक्राउ परेका व्यक्ति निर्दोष भए तुरुन्त रिहाइ गर्नु पर्ने बताए ।
सांसद पन्तले घटनापछि वीरगञ्जका चिकित्सकहरू आन्दोलित भएर जिल्ला प्रशासन कार्यालयमा बसेको वार्ता भाँडिएसँगै उनीहरू जिल्लाका प्रमुखसँग वार्तामा नबस्ने अडान लिएपश्चात् आफू सोमबारदेखि नै स्वास्थ्यमन्त्रीसँग निरन्तर टेलिफोन संवादमा रहेको बताउदै भने- ‘मंगलबारको भेटपछि मन्त्रीज्यू त्यसै दिन एउटा टोली लिएर वीरगञ्ज जाने कुरो थियो । लगत्तै मन्त्रीज्यूको विराटनगर भ्रमण परेपछि उहाँले स्वास्थ्य सचिवको नम्बर दिएर समन्वय गर्न भन्नुभयो र त्यसपछि म गृह र स्वास्थ्य सचिवहरूसँग निरन्तर टेलिफोन संवादमा थिएँ । फोन कहिले उठ्थे कहिले उठ्दैन थिए अनि म्यासेज पनि गर्थेँ।’
त्यसैबीचमा आफूले उनीहरूसँग निरन्तर संवादको क्रममा कहिले चिठी पठाएको उल्लेख गर्दै उनले भने- ‘कहिले नाम आएको छैन, कहिले गृहले स्वास्थ्यतिर देखाउने, कहिले स्वास्थ्यले गृहतिर देखाउने हुँदै गर्दा म स्वयम्ले जेनजी आन्दोलनको जग अनि परिवर्तनको नारामा बनेको यो सरकारमा परिवर्तन महसुस गर्न पाइनँ । जनताले कसरी परिवर्तन महसुस गर्न पाउलान् र सभामुख महोदय ।’
