मनसुन सुरु हुन अझै केही दिन लाग्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन सुरु हुन अझै केही दिन लाग्ने जनाएको छ । विभागले नेपाल प्रवेश गर्ने मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाउदै भनेको छ – “नेपालको पूर्वी भू–भागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ हो। ”
हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्छ । मनसुनी प्रणाली नेपाल भित्रिने औसत मिति जुन १३ हो । तर यो औसत मिति मात्र हो । योभन्दा अगाडि वा पछाडि पनि मनसुन नेपाल भित्रिनसक्छ । मनसुनी प्रणाली नेपालतर्फ अगाडि बढ्नेक्रममा छ । तर यो कहिले नेपाल आइपुग्छ यकिन गर्न नसकिने मौसमविद् गोविन्द झा बताउँछन् । बाटोमा देखिने अवरोधका आधारमा यो प्रणाली नेपाल आउन कति समय लाग्छ निर्धारण हुने उनको भनाइ छ । कुनै अवरोध नभए चाँडै र अवरोध भए केही समय ढिलो पनि हुनसक्ने उनी बताउँछन् ।