चितवन राष्ट्रिय निकुञ्जमा ५३ वन्यजन्तु मरे

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चालु आर्थिक वर्षको हालसम्म गैँडा, बाघ, हात्तीलगायतका दुर्लभसहित ५३ वन्यजन्तु मरेको बताए । उनका अनुसार यस अवधिमा सबैभन्दा बढी २० चित्तल मरेका छन् । त्यसैगरी पछिल्लो १० महिनाको अवधिमा १९ एकसिङ्गे गैँडा मरेका जनाउँदै तिवारीले प्राकृतिक कारणले १५, चोरीसिकारीबाट दुई, सम्भावित चोरीसिकारीबाट एक तथा अन्य कारणले एउटा गैँडाको मरेको जानकारी दिए।
त्यस्तै यस अवधिमा पाँच हात्ती, तीन पाटेबाघ, तीन जरायो, तीन रतुवा, दुई गोही, एउटा बँदेल र एउटा अन्य वन्यजन्तु मरेको तिवारीको भनाइ छ । निकुञ्जले यस वर्ष विभिन्न स्थानबाट एक सय ६३ वन्यजन्तुको उद्धार गरेको सूचना अधिकारी तिवारीले बताए ।