कामिरिता २९औँ पटक सगरमाथा शिखरमा
२०८१ बैशाख ३० गते, आईतवार
काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २९औँ पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आफ्नै रेकर्ड तोड्दै आज बिहान ७ः२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गरेका हुन् ।
विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।
कामीरिताले सन् २०२३ मा २८ र २७ औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसअघि सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।