पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

२०८१ माघ २८ गते, सोमबार


काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्थानीय एवं भक्तजनको पनि सहभागिता रहेको थियो । महाशिवरात्रिमा पशुपतिलाई आकर्षक रुपमा सजाउन रङरोगन गरिने कोषका सदस्य सचिव थापाले बताए ।
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा विभिन्न देवी देवताका आकर्षक भित्ते चित्र पनि बनाइने भएको छ । त्यसको काम पनि सुरु भएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा अहिले महाशिवरात्रिको पूर्वतयारीका लागि काम भइरहेको छ ।
यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउनसक्ने अनुमान गरेर त्यसै अनुरुप तयारी सुरु गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले बताए ।
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधु सन्त प्रत्येक वर्ष बढ्ने गरेका छन् । यस वर्ष महाकुम्भकै कारण पनि साधु सन्तको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
महाशिवरात्रिको तयारीका लागि सोमबार अथवा मङ्गलबार नै कोष सञ्चालक परिषद्को बैठक बसी अरु तयारीका काम पनि अघि बढाइने भएको छ ।
प्रत्येक वर्ष महाशिवरात्रिका दिन फागुन कृष्ण त्रयोदशीमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन् । यस वर्ष फागुन १४ गते बुधबार महाशिवरात्रि पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।-रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पोखरा–छेन्दु उडान हुँदै

२०८१ फाल्गुन २८ गते, बुधबार

तिम्बुङ पोखरीः पर्यटनको नयाँ गन्तव्य

२०८१ फाल्गुन २५ गते, आईतवार