‘मध्यरातमा चिच्याएर वर माग्ने अनौठो मन्दिर’

२०८२ जेष्ठ २४ गते, शुक्रबार


काठमाडौँ । सत्यवती बर्जु मन्दिरलाई धेरैले चिच्याएर वर माग्ने ‘बहिरी देवी’को रूपमा चिन्छन्। बर्जुको कान नसुन्ने मान्यताले चर्को स्वरमा मध्यरातमा चिच्याएर वर माग्नुपर्छ। बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरको साग्दीमा रहेको यो मन्दिरमा चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास छ। यो मन्दिर साक्षात् देवीको शक्तिपीठको रूपमा प्रसिद्ध छ। यहाँ दैनिक धार्मिक भक्तजन र पर्यटक आउँछन्। विशेष पूजाको समयमा एकै दिन एक लाखभन्दा बढी दर्शनार्थी पुग्छन्।
भिरमा रहेको मन्दिरमा सत्यवती बर्जुको दर्शन र पूजा गर्न असहज भएपछि गाउँपालिका र प्रदेश सरकारको सहयोगमा विभिन्न संरचना बनाइएको छ। सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार, बरेङ गाउँपालिका र वडा कार्यालयको संयुक्त लगानीमा एक करोडभन्दा बढीको पर्यटकीय पूर्वाधार तयार भएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। २०७४ सालदेखि प्रवेशद्वार, पदमार्ग, विश्रामस्थल, खानेपानी, बलि दिने स्थान र पर्खालजस्ता संरचना बनाइएपछि मन्दिर आकर्षक बनेको छ।
मन्दिरभित्र सत्यवती देवीको मूर्ति र नजिकै जलकुण्ड छ। यो कुण्डको पानी वर्षभरि एकनास रहन्छ। मध्यरातमा चिच्याएर वर माग्ने यहाँको अनौठो परम्परा छ। भाकल पूरा भएपछि फेरि मन्दिर आउनेको सङ्ख्या पनि धेरै छ, वडाध्यक्ष शेरबहादुर खनालले बताए। मङ्सिर शुक्ल पक्षको धान्य पूर्णिमामा विशेष पूजा र जलकुण्डमा चिच्याएर वर माग्ने प्रचलन छ।
मन्दिरमा १९२४ सालको घण्टी छ, जसले मन्दिरको पुरानो इतिहास पुष्टि गर्छ। गत वर्ष पाँच लाख भेटी सङ्कलन भएको र त्यसबाट मन्दिर निर्माणमा खर्च गरिएको व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर श्रीसले बताए।
मन्दिरलाई सत्यताको प्रतीक मानिन्छ। परापूर्वकालमा यो ठाउँ गौचरन थियो। ‘गौचरनको मुख्य भागमा रहेको जलकुण्डमा गाईवस्तु खस्न सक्ने भन्दै स्थानीयले ढुङ्गा र मुडा राख्थे, तर भोलिपल्ट ती हराउँथे। बाराकोटबाट लामा झिकाएर पूजा गर्दा कुण्डमा शक्ति रहेको पाइयो,’ श्रीसले भने, ‘यो जलकुण्डको धार्मिक सत्यता १९२५ सालमा हुग्दिशिर बराहकोटका मनबीर काउचाले पत्ता लगाएर पूजा शुरू गरे।’
गाईले जलकुण्डमा पानी खाने क्रममा खाल्टोमा खसेर कान नसुन्ने माताको उत्पत्ति भएको किंवदन्ती छ। त्यसैले मध्यरात १२ देखि ३ बजेभित्र चिच्याएर वर माग्दा मनोकामना पूरा हुने विश्वास छ। कुण्ड र मन्दिर माथिको खाल्टोमा चिच्याएर वर मागिन्छ।
दिउँसो मागेको वर नलाग्ने र एकअर्कालाई नचिनिने गरी राति माग्ने प्रचलन छ। बागलुङ, म्याग्दी, गुल्मी, पर्वत, कास्की, तनहुँ, पाल्पा, चितवन, काठमाडौँ, बुटवल, भैरहवालगायतका ठाउँबाट भक्तजन आउँछन्। सत्यवती बर्जुले मनोकामना पूरा गर्ने विश्वासमा राँगा, कुखुरा, बोका, परेवाको बलि दिने वा परेवा उडाउने चलन छ। – खेमराज गौतम / रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु