डोनाल्ड ट्रम्प पक्राउ पर्ने !

काठमाडौं । डोनाल्ड ट्रम्पले शनिबार भने कि उनलाई मार्च २१ मा पक्राउ गर्न सकिन्छ। उनले आफ्ना समर्थकहरुलाई यसको विरोध गर्न आग्रह गरेका छन् । उनले भने–विरोध गर्नुहोस् । हाम्रो देशलाई समर्थन गर्नुहोस् । यद्यपी उनले आफूमाथि के आरोप लाग्ने भन्ने खुलाएनन् । रिपोर्टका अनुसार २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पको एक पोर्न स्टारसँग अफेयर थियो । उनले अफेयर लुकाउन धेरै पैसा दिएका थिए । यो मुद्दा विगत ५ वर्षदेखि न्यूयोर्कमा अनुसन्धानको क्रममा छ । यस सम्बन्धमा उनी पक्राउ पर्न सक्ने अनुमान गरिएको छ ।
यदि ट्रम्प यस मामिलामा दोषी ठहर भएमा यो कुनै पूर्व अमेरिकी राष्ट्रपति विरुद्ध ल्याइएको पहिलो आपराधिक मुद्दा हुनेछ। सरल शब्दमा भन्नुपर्दा, अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले आपराधिक आरोपको सामना गरेका छैनन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’ मा पोस्ट लेख्दै म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट आफूलाई पक्राउ गरिने गोप्य सूचना प्राप्त भएको बताएका छन् । यद्यपी जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ताले यस विषयमा कुनै प्रतिक्रिया दिएनन् ।
ट्रम्पका वकिलहरूले कानून प्रवर्तनबाट यसबारे कुनै जानकारी प्राप्त नभएको बताउँछन्। ट्रम्पको पोस्ट मिडिया रिपोर्टमा आधारित रहेको पनि उनीहरुले बताए ।
डोनाल्ड ट्रम्प २०१७ देखि २०२१ सम्म संयुक्त राज्य अमेरिका को राष्ट्रपति थिए । सन् २०१६ मा राष्ट्रपतिको निर्वाचन भएको थियो । यस क्रममा ट्रम्पमाथि पोर्न स्टार स्टर्मी डेनियलसँग अफेयर रहेको आरोप लागेको थियो र डेनियललाई अफेयर लुकाउन पैसा दिइएको थियो ।
यति मात्र होइन, डेनियलले भनेकी थिइन्– ट्रम्पका पूर्व वकिल माइकल कोहेनले मलाई सन् २०१६ को चुनावअघि चुपचाप बस्न १ लाख ३० हजार डलर दिएका थिए । तर, ट्रम्पले डेनियलसँगको यौन सम्बन्धको आरोप अस्वीकार गर्दै आएका छन् । यो विषय राजनीतिक रुपमा प्रेरित भएको उनको भनाइ छ ।
ट्रम्पकी श्रीमती मेलानियाले छोरालाई जन्म दिएपछि अफेयर सुरु भएको डेनियलले बताइन् । उनले भनिन् – ट्रम्पको छोरा जन्मेको चार महिनापछि हाम्रो सम्बन्ध सुरु भयो। २००६ मा हामी यौन सम्बन्धमा प्रवेश गर्यौं। ट्रम्पले मलाई रियालिटी शोमा पनि कास्ट गर्ने वाचा गरेका थिए । ट्रम्पले आफ्ना समर्थकहरूलाई पक्राउको विरोध गर्न भनेका छन्। त्यसैगरी उनले समर्थकहरुलाई २०२१ मा हुने राष्ट्रपति चुनावको नतिजाको विरोध गर्न आग्रह गरेका थिए । ट्रम्प चुनाव हारे थिए त् उनी यसलाई स्वीकार गर्न चाहँदैनथे । यसपछि ६ जनवरी २०२१ मा उनका समर्थकहरूले अमेरिकी संसदमा हमला गरेका थिए । – एजेन्सी