मिटरब्याज तथा लघुवित्त पीडितलाई नेकपाको साथ

२०८२ बैशाख २३ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले नेपाल कम्युनिस्ट पार्टी मिटरब्याज पीडितलाई न्याय दिलाउन प्रतिबद्ध भएको बताउदै मिटरब्याज तथा लघुवित्त पीडितहरूलाई आफ्नो समस्याको विरुद्ध अन्तिमसम्म लड्न आह्वान गरेका छन् । सो पार्टीद्वारा धनुषाको ढल्केबरमा आयोजित मिटरब्याज तथा लघुवित्त पीडितहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो आह्वान गरेका हुन् ।


महासचिव विप्लव सीले मिटरब्याज र लघुवित्त मधेसको ठूलो समस्याको रूपमा देखापरेको बताउदै मिटरब्याज तथा लघुवित्त पीडितहरूलाई आफ्नो समस्याको विरुद्ध अन्तिमसम्म लड्न आह्वान गर्दै उनीहरुको साथमा नेकपा रहने बताए ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेकपा पोलिट ब्यूरो सदस्य देवनारायण सीले मधेसमा मिटरब्याजी पीडितहरूको ठूलो सङ्ख्या रहेको जानकारी गराए। उनले पीडितहरूको पक्षमा आफ्नो पार्टी सधैँ लड्ने बताए।


कार्यक्रममा सहभागी भएका पीडितहरूले आफूहरूले भोगेका कहालीलाग्दो ऋणको कथा सुनाएका थिए। एक पीडितले आफ्नो दुःख व्यक्त गर्दै भने, “मैले ७ हजार ऋण लिएको थिएँ, आज तिर्दा तिर्दा ६ लाख जति भयो। ऋणले हामीलाई बाँच्नु न मर्नु बनाएको छ। हाम्रो जीवन खोसिएको छ, हामी बस्ने बास पनि छैन।” अर्का एक पीडितले महासचिव विप्लवसामु आफ्नो पीडा सुनाउँदै भने, “थोरै पैसा लिएर चार गुणा बढी असुलेर पनि ऋणीको करोडौं सम्पत्ति रोक्का गरेर उल्टै हामी पीडितहरूलाई जेल हालेका छन्। नेकपाले हामीलाई न्याय दिनुपर्छ, यो पार्टी धेरै पीडितहरूको आवाज हो।”


स्थानीयहरूले नेपालको सत्ता नजिक रहेका सामन्तीहरूले नै जनतामाथि अन्याय गरेको गुनासो गरेका थिए। उनीहरूले राज्य पक्षबाट पीडितहरूलाई कुनै सहयोग नगरिएको बरु उल्टै जेल हालेर दुःख दिने गरेको बताए। मधेसमा मिटरब्याज तथा लघुवित्त पीडितहरूको सङ्ख्या लाखौं रहेको जानकारी पनि कार्यक्रममा दिइएको थियो।


अन्तमा, सहभागी सबैले नारा जुलुस गर्दै कार्यक्रम सम्पन्न गरेका थिए। कार्यक्रमले मिटरब्याज तथा लघुवित्त पीडितहरूको समस्यालाई उजागर गर्न र उनीहरूको न्यायको लागि आवाज बुलन्द गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
नेकपा केन्द्रीय सदस्य सिला सीको सञ्चालनमा भएको उक्त कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य अनिल सीको अध्यक्षता रहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]