भारत चीनबिचको भएको लिपुलेक सहमति खारेज गर

२०८२ भाद्र ७ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीलगायत ९ वटा वामपन्थी पार्टी तथा राजनीतिक संगठनहरुले भारत र चीनबिच भएको लिपुलेक सहमति खारेजीका लागि तत्काल पहल गर्न नेपाल सरकारसंग जोडदार रुपमा माग गरेका छन् ।
९ वटा वामपन्थी पार्टी तथा राजनीतिक संगठनहरुले शुक्रबार संयुक्त बिज्ञप्ति जारी गर्दै नेपालको सार्वभौम भौगोलिक अखण्डतामाथि हस्तक्षेप हुने गरी नेपालको भूभागमा दुई देशले व्यापारिक नाका बनाउने सहमतिको हामी स्वतन्त्र तथा सार्वभौम नेपालीहरुको तर्फबाट जोडदार विरोध गर्दै तत्काल यसको खारेजीको लागि नेपाल सरकारसित पहल गर्न माग गरेका छन ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य चिरन पुन , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपाली, , नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, नेकपा (बहुमत)का कृष्णप्रसाद धमला, नेकपा (एकीकृत समाजवादी)का साध्यबहादुर भण्डारी, राष्टिय जनमोर्चाकी दुर्गा पौडेल, नेकपाका कृष्णहरि भट्ट, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका राजकुमार हिंगमांग, अखिल नेपाल कम्युनिस्ट पार्टीका लक्ष्मण उप्रतीले हस्ताक्षर गरेको संयुक्त बिज्ञप्तिमा भनिएको छ- ‘२०८२ भदौ ३ गते भारत र चीनका विदेश सचिव स्तरीय बैठकले नेपालको दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभागलाई दुई देशबिचको व्यापारिक नाका बनाउने सहमति गरेको कुराप्रति हामी निम्न अनुसारका वामपन्थी क्रान्तिकारी राजनीतिक पार्टी तथा संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त भूभाग ऐतिहासिक कालदेखि नै नेपालको नक्सा, आधिकारिक कागजात तथा विभिन्न अकाट्य प्रमाणहरुले नेपालकै भूमि हो भन्ने कुरा पुष्टि भएको कुरालाई बेवास्ता गर्दै भारत र चीनले सहमति गर्नु निन्दनीय छ ।
नेपालको सार्वभौम भौगोलिक अखण्डतामाथि हस्तक्षेप हुने गरी नेपालको भूभागमा दुई देशले व्यापारिक नाका बनाउने सहमतिको हामी स्वतन्त्र तथा सार्वभौम नेपालीहरुको तर्फबाट जोडदार विरोध गर्दछौं । साथै, तत्काल यसको खारेजीको लागि नेपाल सरकारसित पहल गर्न माग गर्दछौं ।’

प्रतिक्रियाहरु

[anycomment]