नेकपा (माओवादी)को नेतृत्वमा सर्वपक्षिय अन्तरिम सरकार अनिबार्य
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले देशको वर्तमान राजनीतिक संकटको निकास नेकपा (माओवादी)को नेतृत्वमा सर्वपक्षिय अन्तरिम सरकार मात्रै भएको ठोकुवा गरेका छन। अखिल (समाजवादी)ले शुक्रवार त्रिभूवन विश्वविद्यालयमा आयोजना गरेको ‘राष्ट्रिय संकट र विश्वविद्यालयको भूमिका बिषयक अन्तर–सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले देशमा बाह्य शक्तिको हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गर्दै भने- ‘देश फेल भयो भन्दै केही तत्वले बाह्य शक्तिलाई गुहार्ने जस्तो देखिन थालेको छ। हाम्रो देश फेल भएको छैन, हामी बाह्य शक्तिको हस्तक्षेप स्वीकार गर्न सक्दैनौ, राज्य छकी छैन भन्ने अवस्थामा देश छ, यसलाई सुल्झाउनु पर्छ ।’
यसैगरी, महासचिव विप्लव सीले आफ्नो पार्टीले १२ बर्षदेखि भ्रष्टाचार, मिटर व्याज लगायतका विकृति विसंगति विरुद्ध लडदै आएको दाबी गर्दै ७२ अर्व कर नतिर्ने एनसेलका विरुद्ध कार्वाही गरेपछि मात्र साढे २२ अर्व कर तिरेको बताए । उनले नेपालमा भ्रष्टाचारका कारण नै जेनजी आन्दोलन जन्मिएको ठोकुवा गर्दै नेकपा (माओवादी)को नेतृत्वमा सर्वपक्षिय अन्तरिम सरकार बन्नुको बिकल्प नभएको बताए । उनले भने-
‘सर्वपक्षीय सरकार चाहिन्छ, भ्रष्टाचार र मिटर व्याज विरुद्ध निरन्तर लडेको शक्ति हो,यसको नेतृत्वमा सर्वपक्षिय सरकार बनाउ भन्ने छ, यो लुकाउनु पर्ने विषय होईन। ’
यसैगरी, महासचिव विप्लव सीले भ्रष्टाचार छानविन गर्न एक उच्च स्तरिय छानविन आयोग बन्नु पर्ने र उच्च स्तरिय न्यायलय चाहिने बताउदै भने- ‘भ्रष्टाचार हेर्ने विशेष अदालत छ, यसले दोषि बनाउछ, तर सर्वोच्चले निर्दोशी बनाएर छुटाउछ, यस्तो गर्नु हुदैन, बरु सत्य तथ्य छानविन गर्नु पर्यो, दोषिलाई उन्मुक्ति दिनु हुँदैन ।’
