सरकार जेन–जी विद्रोहलाई अपराध करार गर्न उद्दत
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले सरकार जेन–जी विद्रोहलाई अपराध करार गर्न उद्दत भएको ठोकुवा गरेका छन। कृष्णहरी सैंजुको ‘वर्गसंघर्षको विश्वविध्यालयमा ३ वर्ष’ नामक पुस्तक परिचर्चा तथा लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्
महासचिव विप्लव सीले जेनजी विद्रोहले बनाएको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले कांग्रेस, एमाले र माओवादीका कार्यकर्तालाई देखाएर जेन–जी विद्रोहीहरूलाई अपराधी करार गर्ने काम गरिरहेकाले देशको अवस्था बेहाल हुन पुगेको बताए । उनले भने- ‘२३ र २४ गते जति पनि युवाहरू, नागरिकहरू, जेनजीहरू सडकमा निस्किए । त्यो त यो व्यवस्थाबाट वाक्क दिक्क भएको, भ्रष्टाचारबाट वाक्क दिक्क भएर परिवर्तन गर्न हिँडेका हुन् नि । ती एमाले भएर निस्केका हुन र ? ती कांग्रेस, माओवादी भएर निस्केको मान्छे होइनन् नि । ती यसलाई फेर्नुपर्छ भनेर सडकमा आएका मान्छे हुन् नि । अब त्यही विद्रोहबाट सुशीला कार्कीजीको सरकार आउने । अनि उहाँले आफूलाई सत्तामा ल्याउने मान्छेलाई अपराधी करार गर्न खोज्ने हो भने अनि यो देशको हालत के हुन्छ ?’
यसैगरी,महासचिव विप्लव सीले विभिन्न फुटेजहरू हेरेर कांग्रेस, एमालेका कार्यकर्ताहरूले मेरो घर जलाएको रहेछ भन्न लगाएर सरकारले जेनजी विद्रोहीहरूलाई घुमाउरो पाराले अपराधि बनाउने कोशिस गरिरहेको बताए । उनले जेनजी विद्रोह असफल भइसकेको र त्यसमा सरकारको भुमिका रहेको रहेको ठोकुवा गर्दै भने- ‘हामी के देख्छौ भने नेपालको राजनीति संक्रमणकालीन अवस्थामा नै छ । संकट पनि छ । जेनजी विद्रोह असफल नै भइसक्यो । जेनजीको असफलतालाई लगेर फेरि अर्को ठाउँमा यसलाई दुरुपयोग गर्न खोजेको, अपव्याख्या गर्न खोजेको देखिन्छ । जसरी हिजो माओवादीलाई उग्रवादी आतंककारी भनेर अहिले व्याख्या गर्न खोजिँदैछ। अहिले जेनजीको तरिका के छ भने फोटो हेरीहेरी, सिसिटीभीको फुटेज हेरीहेरी मेरो घरमा त कांग्रेस जलाउन आएको रहेछ भन्छ । मेरो घरमा एमालेले जलाएको रहेछ, मेरो घर त एमाले भित्रैकाले जलाएको रहेछ । कस्तो व्याख्या हो यो ? विद्रोह त्यस्तो हुन्छ त ? त्यसमा सहमत भएर जति पनि लडन गए नि । ती विद्रोही हुन नि ।’
