नेकपा (माओवादी) का महासचिव विप्लव सी रोल्पा र प्रवक्ता प्रकाण्ड सी कालिकोटबाट एकल उम्मेदवार सिफारिस
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सी रोल्पा र प्रवक्ता प्रकाण्ड सी कालिकोटबाट एकल उम्मेदवार सिफारिस भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सो पार्टीका महासचिव विप्लव सी रोल्पावाट र प्रवक्ता प्रकाण्ड सी कालिकोटबाट एकल उम्मेदवार सिफारिस भएका हुन्।
यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) रोल्पाले प्रतिनिधिसभा सदस्यका लागि हुने प्रत्यक्ष निर्वाचनमा पार्टीका महासचिव विप्लव सीलाई रोल्पाबाट एकल रुपमा सिफारिस गरेको छ । सो पार्टीको हालै बसेको बैठकले तत्कालीन माओवादीले आधार क्षेत्र मान्दै आएको क्षेत्रबाट उम्मेदवारका रूपमा महासचिव विप्लव सीलाई सिफारिस गरेको हो ।
उक्त सिफारिसप्रति प्रतिक्रिया जनाउँदै महासचिव विप्लव सीले सामाजिक सञ्जाल मार्फत पार्टी, सहयोद्धाहरु र समर्थकप्रति आभार व्यक्त गरेका छन् । उनले आफूप्रति गरेको विश्वास, राखेको अपेक्षा र दिएको जिम्मेवारीलाई वर्तमान पेचिलो राजनीतिक परिस्थितिमा गम्भीर कार्यभारका रूपमा बुझेको बताएका छन् ।
महासचिव विप्लव सीले आगामी दिनमा सबै मित्र, अभिभावक, शुभचिन्तक तथा राजनीतिक दलहरूसँग परामर्श गर्दै निर्णय कार्यान्वयनतर्फ अघि बढ्ने स्पष्ट पारेका छन् । उनले आभार व्यक्त गर्दै जिम्मेवारीलाई साझा छलफल र सहमतिका आधारमा अगाडि बढाउने संकेत दिएका छन् ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) कालिकोटको विशेष बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रवक्ता प्रकाण्ड सीलाई कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ एकल उम्मेदवारको रुपमा सिफारिस गरेको छ । सो पार्टीको मंगलबार कालिकोटको खुलालुमा बसेको जिल्ला समितिको विशेष बैठकले सर्वसम्मत रूपमा प्रवक्ता प्रकाण्ड सीलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको हो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) कालिकोटका इन्चार्ज विवेक सीका अनुसार श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने राष्ट्रिय नेता, सहिद परिवारका सदस्य तथा कर्णालीमा माओवादी आन्दोलन विस्तार गर्ने प्रमुख नेतृत्वको रूपमा प्रकाण्डलाई उम्मेदवार सिफारिस गरिएको हो।
कालिकोटका अधिकांश जनताले प्रवक्ता प्रकाण्ड सीलाई माओवादी जनयुद्धको सुरुवात गर्ने जन्मदाता तथा कर्णाली क्षेत्रका प्रभावशाली नेताका रूपमा चिन्ने गरेका छन्। उनि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भारी मतका साथ विजयी भएका थिए ।
नेकपा (माओवादी)का महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले प्रचण्ड नेतृत्वको माओवादीले जनताको अपेक्षा अनुसार काम नगरेको निष्कर्षसहित क्रान्तिका अधुरा सपना पूरा गर्ने उद्देश्यका साथ २०७९ सालमा नेकपा (माओवादी) पुनर्गठन गरेका थिए । प्रवक्ता प्रकाण्ड सी त्यसपछि भएका कुनै पनि निवार्चनमा सहभागी भएका थिएनन ।
नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले प्रचण्डसँगको राजनीतिक विभाजनपछि एकीकृत जनक्रान्तिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै देश र जनताको हितमा महत्वपूर्ण योगदान दिँदै आएका छन ।
स्मरणीय छ, तत्कालिन नेकपाले )केपी शर्मा ओली प्रधानमन्त्री रहेको तथा प्रचण्ड–ओली नेतृत्वमा पार्टी एकता गरी नेकपा बनेको अवधिमा भ्रष्टाचारविरुद्ध कारबाही गरेकै कारण करिब दुई वर्ष प्रतिबन्धको सामना गर्नुपरेको थियो। २०७७ फागुन २१ गते सरकारसँग भएको तीन बुँदे सहमतिपछि तत्कालीन नेकपा तथा हालको नेकपा (माओवादी) खुला राजनीतिमा प्रवेश गरेको हो। एकीकृत जनक्रान्तिको एक मोर्चाका रूपमा २०८२ फागुन २१ गतेको निर्वाचनलाई उपयोग गर्ने नीति अनुसार पार्टीले गत मंसिर २ गते निर्वाचन आयोगमा औपचारिक रूपमा नेकपा (माओवादी) नाममा दर्ता भई निर्वाचन प्रक्रियामा सहभागी भएको छ।
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले माधव नेपाललगायत साना दलहरूसँग एकता गर्दै माओवादी पहिचान त्यागी नेपाली कम्युनिष्ट पार्टी बनाएपछि नेकपाले जनयुद्धकालीन नाम नेकपा (माओवादी) पुनः प्रयोग गरेको हो। निर्वाचन आयोगबाट गुलाफ चिन्ह प्राप्त गरेको माओवादीले समानुपातिकतर्फ बन्द सूची पेश गरिसकेको छ भने प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सार्वजनिक गर्न थालेको छ।
यसैक्रममा नेकपा (माओवादी) कालिकोटले प्रतिनिधिसभा निर्वाचनका लागि प्रवक्ता प्रकाण्डको नाम एकल रूपमा सिफारिस गरेको हो, जसले जिल्लामा नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ। एकातर्फ नेपाली कम्युनिष्ट पार्टीबाट प्रचण्ड र अर्कोतर्फ माओवादीबाट प्रवक्ता प्रकाण्ड सी उम्मेदवार सिफारिस हुनु विगतमा एउटै पार्टीका नेताहरू अहिले फरक दलबाट चुनावी प्रतिस्पर्धामा उत्रने अवस्था बनेको भन्दै यसले व्यापक चासो जन्माएको स्थानीय नेताहरू बताउँछन्।
कालिकोटका जनताले भने स्थानीय स्तरमै जरा गाडेको, देश र जनताप्रति प्रतिबद्ध नेता भएकाले प्रवक्ता प्रकाण्ड सी नै विजयी हुने आकलन गर्न थालेका छन्।
