सहिदको सपना नभुलौं
यही माघ १० गते देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवस भव्यताका साथ मनाइएको छ । राणा विरोधी आन्दोलनमा लखन थापा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दले हाँसी–हाँसी बलिदान गरेका थिए भने जनआन्दोलन, जनयुद्ध, एकीकृत जनक्रान्तिदेखि गत भदौ २३–२४ गते भएको जेन–जी विद्रोहसम्म देश र जनाताको मुक्तिका निम्ति हजारौँ नेपाली सपुतहरुले बलिदान दिए । माघ १६ गते सरकारी तवरबाट सहिद दिवस मनाउदै आएपनि राणा विरोधी आन्दोलन, जनआन्दोलन, जनयुद्ध, एकीकृत जनक्रान्ति र जेन–जी बिद्रोहका क्रममा सहिद हुने योद्धाहरुको सपना पुरा हुन सकेको छैन् ।
राष्ट्र र जनताको मुहार फेर्न निरंकुश राणा शासन र राजतन्त्रविरुद्ध हजारौँ सहिदहरूले बलिदानी गरे पनि न राष्ट्र स्वाधीन हुन सकेको छ, न जनता नै अधिकार सम्पन्न भएका छन् । यतिबेला १० वर्षे जनयुद्ध, १९ दिने जनाअन्दोलन र जेन–जी विद्रोहबाट प्राप्त उपलब्धिहरु नामेट हुने स्थितिमा पुगेका छन् । देशमा सामन्तवाद, देशी–विदेशी प्रतिक्रियावादी र यथास्थितिवादीको जगजगी दिनप्रतिदिन बढी रहेको छ । शान्ति र सुव्यवस्था नारामा मात्र सीमित भएको छ । दिनहुँ अन्याय, अत्याचार, कालोबजार र भ्रष्टाचार मौलाइरहको छ । जनजीविका दिनप्रतिदिन थप कष्टकर बन्दै गइरहेको छ । देशको शासन, सुव्यवस्था कायम गर्ने राजनीतिक दल र नेताहरू गैरजिम्मेवार बन्दै गइरहेका छन् । राजनीतिक दल र नेताहरू राष्ट्र र जनताभन्दा दल र आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमा दत्तचित्त छन् । राजनीतिक दल र नेताहरूको यस्तो कार्यले नेपाली जनताले विश्वसामु शिर निहुराउनु पर्ने स्थिति छ र सहिदहरूको बलिदान त्यतिकै खेर गएको स्थिति छ । त्यसकारण, देश र जनताको मुहार फेर्ने प्रतिवद्धताका साथ राजनीतिमा होमिएका दल र नेताहरूले एक पटक गम्भीर भएर सोच्नुपर्ने स्थिति आएको छ । आफ्नो दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको निम्ति सोच्न जरुरी छ । अन्यथा, राष्ट्र र जनताको नाममा आफ्नो दलगत र व्यक्तिगत स्वार्थपूर्तिमा केन्द्रित हुने दल र नेतालाई सहिदहरूले पक्कै माफ गर्ने छैनन् ।
तसर्थः तमाम सहिदका साथै जेन–जीको माग सम्बोधन गर्न र देशलाई अग्रगमनतर्फ बढाउन तत्काल स्वच्छ राजनीतिक व्यक्तित्वको नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकारको गठन गर्नुपर्छ । त्यही अन्तरिम सरकारमार्फत् राज्यको पुर्नसंरचना, संविधानको पुर्नलेखन, नेपाली जनताले स्वनिर्णयसहित राजनीतिक अधिकारको निर्विवाद प्रयोग गर्न पाउने आम निर्वाचन गराउनु पर्दछ । यसले मात्र जेन–जी र आम स्वाभिमानी जनताको असली मागको सम्बोधन गर्न र देशलाई निकास दिन सक्छ । अन्यथा भविष्यमा अर्को भयङ्कर विद्रोह हुने र फेरी सयौं नेपाली आमाका सपुतहरुले बलिदानी गर्नु पर्ने निश्चित छ ।
