महाशिवरात्रि पर्वमा बिहान २ बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ने

२०८२ फाल्गुन १ गते, शुक्रबार

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको जनाएको छ । महाशिवरात्रि पर्व मनाउनका लागि आराध्य देव भगवान पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढ्न थालेको छ । महाशिवरात्रि पर्व सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोष सञ्चालक परिषदका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको छ । मन्त्रीको अध्यक्षतामा गठन गरिएको १७१ सदस्यीय मूल समारोह समितिले पनि सक्रिय रुपमा काम गरिरहेको छ । मन्त्री सिन्हाको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषले तयारीका काम गरिरहेको छ । पर्व सम्पन्न गर्न ९ वटा विषयगत उप-समिति गठन गरिएको छ । पशुपतिनाथ आउने दर्शनार्थीलाई सहज सेवा दिन सम्पूर्ण ध्यान केन्द्रित गरेको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले बताए । यसपटक महाशिवरात्रि पर्व उल्लासमय वातावरणमा मनाइँदैछ । पशुपति क्षेत्र फूल र बत्तीले आकर्षक रुपमा सिँगार्न थालिएको छ ।
नेपाल, भारत, भुटान, बंगलादेश, म्यानमारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ । व्यवस्थित रुपमा पूजाआजा र दर्शनको व्यवस्था गर्नका लागि आइतबार बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने निर्णय भएको उनले बताए । कोषको प्राथमिकता भक्तजनको सुविधा र सहजता भएकाले त्यसै अनुरूप काम गरिएको छ । दर्शनार्थी, साधुसन्त एवं भक्तजनको सङ्ख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न कोषले आह्वान गरेको छ । भगवानको दर्शन गर्न लामो समय प्रतीक्षा गर्न नपर्ने गरी व्यवस्थापन गरिएको छ ।
पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था पनि महाशिवरात्रिकै लागि प्रभावकारी बनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ । सुरक्षा निकायसँगै कोषको आफ्नो सुरक्षा टोली पनि पशुपति क्षेत्रमा खटाइएको छ । दर्शनार्थीको सुरक्षामा विशेष ध्यान दिइएको छ । साधुसन्त, महन्थ र भक्तजनको सुरक्षा गर्दै अनुगमन गर्ने प्रबन्ध गरिएको छ । सामाजिक एवं धार्मिक संघसंस्था परिचालन गरी महाशिवरात्रि पर्वलाई सहज रुपमा व्यवस्थापन गर्न लागिएको छ । कालिका साधना संघ, नेपाल रेडक्रस, स्काउट, लायन्स क्लब र धार्मिक संघ संगठनका तर्फबाट स्वयंसेवक खटाइएको कोषले जनाएको छ ।
भक्तजनका लागि स्वास्थ्य सेवाको उचित व्यवस्था गरिएको छ । अस्पतालमा शय्या बुक गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँगै विभिन्न क्षेत्रबाट स्वास्थ्यकर्मी, औषधी र एम्बुलेन्स तयार अवस्थामा राखिएको छ । साधुसन्तको व्यवस्थापन मन्दिर परिसरमा गरिएको छ । मन्दिर परिसरस्थित धर्मशालामा बस्ने व्यवस्था गरिएको छ । तिलगंगासँगै हंशमण्डप, वनकालीसहितका क्षेत्रमा निःशुल्क आवास, भोजन आदिको व्यवस्थापन गरिएको छ । यी स्थलमा हजारौं भक्तजनको भीड जम्मा हुन थालेको छ ।
भगवान पशुपतिनाथको दर्शन, चन्दन वितरणसहित दर्शनार्थीको सम्पूर्ण सेवालाई व्यवस्थित गर्ने गरी महाशिवरात्रि पर्व मनाउने तयारी गरिएको छ । महाशिवरात्रि पर्वलाई विशेष बनाउन मन्दिर परिसरलाई आकर्षक रुपमा सिँगारिएको छ ।
पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीलाई फेरि पनि आउने गरी आकर्षित गर्ने गरी तयारी गरिएको छ । पशुपतिनाथ मन्दिर आउने भक्तजनलाई फागुन कृष्ण एकादशी अर्थात् शुक्रबारदेखि नै गुठी संस्थानले खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरेको जनाइएको छ । कोषका सदस्य सचिव प्रकाशमणि शर्मा भुसाल विश्व शान्ति शिवतत्वबाट नै हुने भएकाले विश्व शान्तिसँग जोडेर महाशिवरात्रि पर्व मनाउने तयारी गरिएको बताउँछन् । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रको सरसफाइमा विशेष ध्यान दिइएको र पर्यावरण जोगाएर नै पर्व मनाउने व्यवस्था मिलाइएको उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]