नेपाल कम्युनिस्ट पार्टी (माओवादी)द्वारा संयुक्त विद्यार्थी आन्दोलनलाई समर्थन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारको निर्णय विरुद्ध संयुक्त विद्यार्थी आन्दोलनलाई समर्थन जनाएको छ। सो पार्टीका महासचिव विप्लव सीले सामाजिक संजाल फेसबुकमार्फत विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारी निर्णय निरंकुश प्रवृत्तिको अभिव्यक्ति भएको बताएका छन्।
महासचिव विप्लव सीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस पोस्ट गर्दै विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारको निर्णय विरुद्ध संयुक्त विद्यार्थी आन्दोलनलाई समर्थन रहेको बताएका छन्। उनले अहिलेको सरकार विद्यार्थी आन्दोलनको बलिदान माथी खडा भएको भन्दै जुन संस्था र शक्तिको योगदानले यो परिवर्तन र सरकार खडा भएको छ न् तिनकै घाटी निमोठ्न खोजे सरकारकै जरो उखेलिने चेतावनी समेत दिएका हुन्।
महासचिव विप्लव सीले विद्यार्थी आन्दोलन सचेतता,खबरदारी, न्याय, बिद्रोह र अग्रगमनको वाहक भएको बताउँदै नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको दाबी गरे। यसैगरी विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरूद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति आफ्नो पूर्ण समर्थन रहेको बताउँदै उनले आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ्न विद्यार्थी संगठनहरूलाई सुझाव समेत दिएक छन्। उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् – ‘विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरूद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति हाम्रो पूर्ण समर्थन छ। आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ ।
सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो । विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, बिद्रोह र अग्रगमनका वहाक हुन । नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ।
जुन संस्था र शक्तिको योगदानले यी परिवर्तन भएका छन् र सरकार खडा भएकाछन् तिनकै घाटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ।’
स्मरणीय छ , राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पेस गरेको सुशासन सम्बन्धि १ सय बुँदामा ६० दिन भित्र शैक्षिक संस्थाहरूबाट दलीय विद्यार्थी खारेज गर्ने निर्णय गरेको छ। सरकारको विद्यार्थी संगठन खारेज गर्ने निर्णय विरुद्ध विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रुपले आन्दोलन गरि रहेका छन् ।
