भट्ट र अग्रवाललाई धरौटीमा छाड्न आदेश

२०८३ श्रावण १ गते, शुक्रबार


काठमाडौँ । जिल्ला अदालत काठमाडौँले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग अरु दुई कसुरमा धरौटी माग गर्दै सो आदेश दिएको हो । बिहीबार न्यायाधीश आचार्यको इजलासले बिमा ऐन २०७९ अन्तरगतको कसुरमा सुलभ अग्रवालसँग २ करोड र दीपक भट्टसँग डेढ करोड धरौटी माग गरेको हो। धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तरगतको छुट्टै कसुरमा सुलभ अग्रवालसँग २ करोड ३० लाख धरौटी माग गरिएको छ भने दिपक भट्टसमेत जोडिएको अर्को कसुरमा पनि धरौटी मागकै आदेश भएको छ। उक्त ८१ जना संलग्न रहेको अभियोगमा अग्रवालसँग १ करोड ५० लाख र भट्टसँग एक करोड धरौटी माग गर्ने आदेश भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए। उनीहरुलाई असार ३ गते सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अहिले दुवैजना कारागारमै छन्।

प्रतिक्रियाहरु

[anycomment]