देउवा स्वदेश फर्किए : आफ्नो अनुभव मुलुक र पार्टीलाई लिन आग्रह(भिडियोसहित )
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि स्वदेश फर्किएका छन् । गत फागुन १३ गते पूर्वमन्त्री समेत रहेकी श्रीमती आरजु राणासहित उपचारका लागि भन्दै सिंगापुर उडेका देउवा आज नेपाल फर्किएका हुन् । देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य रूपमा स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका नेता तथा कार्यकर्ता उहाँको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
स्वदेश फर्किएका देउवाले अपिलपत्र जारी गर्दै आफ्नो विगतको अनुभव राज्य र पार्टीले लिनुपर्ने बताएका छन्। उनले भने – ‘मैले राजनैतिक रुपमा लिनु पर्ने केही छैन तर मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नु पर्छ र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु मेरो दायित्व पनि हो। नेपाली कांग्रेसप्रतिको मेरो अटुट विश्वास र माया कहिल्यै कम हुने छैन।’
देउवाले युवा र पाका पुस्ताबीच सन्तुलन कायम गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका छन्। युवाहरू अघि बढ्नुपर्ने भए पनि यसको अर्थ पुराना र अनुभवीहरू खराब हुन् भन्ने गलत भाग्य निर्माण गर्न नहुने देउवाको भनाइ छ ।
देउवाले पार्टीका नेता कार्यकर्ता निराश भएको अवस्था रहेको बताउदै भने- ‘पार्टीका साथीहरू अहिले निराश भएको अवस्था छ। उनीहरुको मनोबल बढ्ने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एक पटक जोड्नु पर्ने समय आएको छ । त्यस कार्यमा लाग्न म सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई अपिल पनि गर्न चाहान्छु। विगतमा माओवादीको सशस्त्र द्वन्द्वदेखि मुलुकका जटिल राजनीतिक घटनाक्रमहरूका साथै नेपाली कांग्रेसभित्रका विवादहरूमा मिलाप गराएको मेरो अनुभव छ । मलाई विश्वास छ त्यो अनुभव आगामी दिनहरूमा म नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै छु।’
देउवाले आत्मसमीक्षा र मार्ग सुधारका लागि प्रतिवद्ध रहेको पनि बताउदै भने- ‘यदि हामी कतै विचलित भएका छौं भने सुधार गर्नेछौं यदि कतै चुक्यौं भने पुनः उठ्नेछौं । हाम्रो यात्रा निरन्तर सुधारको यात्रा हुनेछ, जसलाई तराईदेखि हिमालसम्मका प्रत्येक नागरिकको सुझाव, अपेक्षा र आकांक्षाले मार्गदर्शन गर्नेछ।’
