रसुवामा भिषण बाढी :ठूलो धनजनको क्षति
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भिषण बाढी आएको छ । आज बिहान करिब सवा ९ बजेको समयमा रसुवाको भोटेकोशी नदीमा एक्कासि भिषण् बाढी आएको जानकारी आफूले पाएको रसुवाको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए । तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ । बाढीले रसुवा जिल्लास्थित नेपाल प्रहरीका तीन वटा सुरक्षा निकायका कार्यालयहरूमा गम्भीर क्षति पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीले सीमावर्ती क्षेत्रका कार्यालयहरूमा भौतिक क्षति पुर्याएको हो।
बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीमा ठुलो क्षति पुगेको विवरण प्राप्त भएको छ।
प्रहरी प्रधान कार्यालयले बाढीबाट भएका भौतिक क्षति तथा त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूको अवस्थाबारे विस्तृत विवरण सङ्कलन भइरहेको र थप जानकारी आउन बाँकी रहेको जनाएको छ ।
यसैबीच,बुधबार मन्त्रिपरिषदको आकस्मिक बैठकले रसुवा, नुवाकोट, धादिङ लगायतका प्रभावित स्थानीय तहमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। ‘विपदबाट प्रभावित जिल्लाका स्थानीय तहमा तीन महिनाका लागि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ बमोजिम विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने,’ सरकार प्रवक्ता सस्मित पोखरेलले भने। सरकारले अहिले उद्धारका कामलाई प्राथमिकतामा राखेको उनले बताए।
