राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा बाढीका कारण जनधनको क्षति भएकाेप्रति दुःख व्यक्त
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले नेपाल-चीनमा आएको भीषण बाढीका कारण अधिकांश मानिसको ज्यान गएको र बेपत्ता भएका तथा व्यापक भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
महासचिव गुटेरेसले मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । साथै, उनले बाढीबाट प्रभावित सबै नागरिकप्रति आफ्नो पूर्ण ऐक्यबद्धता प्रकट गरेका छन । उनले नेपालमा राष्ट्रसंघले सरकारको नेतृत्वमा भइरहेको विपद् प्रतिकार्यमा पूर्ण सहयोग गरिरहेको बताएका छन ।
महासचिव गुटेरेसले यसमा विपद्को वास्तविक क्षतिको आकलन गर्ने र तत्काल आपत्कालीन राहत पुर्याउने कार्य समावेश रहेको बताउदै प्रभावित समुदायलाई सहयोग पुर्याउन राष्ट्रसंघीय टोली तथा मानवीय सहायताका साझेदारले आवश्यक राहत सामग्री र दक्ष जनशक्ति परिचालन गरिरहेको समेत बताएका छन ।
महासचिव गुटेरेसले जीवनरक्षाका निम्ति खटिएका आपत्कालीन उद्धारकर्ताको प्रशंसा गर्दै राष्ट्रसंघ थप आवश्यक सहयोग उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको पनि बताएका छन ।
