‘बाढीबाट सर्वस्व गुमाएका नागरिकको उचित व्यवस्थापन गर’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीबाट सर्वस्व गुमाएका नागरिकको उचित व्यवस्थापन गर्न सरकारसँग विशेष माग गरेको छ। सो पार्टीका महासचिव विप्लव सीले बुधबार बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।
महासचिव विप्लव सीले बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा अकल्पनीय जनधनको क्षति भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
महासचिव विप्लव सीले बाढी प्रभावित क्षेत्रमा राज्यका सम्पूर्ण साधन–स्रोत परिचालन गरी पीडित नागरिकको उद्धार गर्न, घाइतेहरूको निःशुल्क उपचार तथा बाढीबाट सर्वस्व गुमाएका नागरिकको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।
महासचिव विप्लव सीले बिज्ञप्तिमार्फत् भोटेकोशी बाढीको प्रभाव र क्षति इतिहासकै ठूलो मध्येको भएको भन्दै राज्य र नागरिक सम्मिलित विशेष राहत कोष स्थापना गरी संयुक्त परिचालन समिति गठन गर्न पनि माग गरेका छन्। उनले विपद्को यस घडीमा देश–विदेशमा रहेका नेपाली नागरिकलाई सहयोगका लागि अपिल गर्दै अन्तर्राष्ट्रिय मानवीय भावनाअनुरूप राहत अभियानमा सहभागी हुन सबै मित्र देशहरूलाई आग्रह गरेका छन्।
महासचिव विप्लव सीले बिज्ञप्तिमार्फत् युवा, विद्यार्थी तथा विभिन्न मोर्चा–संगठनसँगै पार्टीपंक्तिलाई उद्धार, राहत र व्यवस्थापनमा सक्रियतापूर्वक सहभागी हुन विशेष अपिलसमेत गरेका छन्।
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीद्वारा जारी बिज्ञप्ति यस प्रकार रहेको छ – ‘यही २०८३ भदौ १० गते विहान त्रिशूली नदीको शिर रसुवा जिल्लाको भोटेकोशीमा अचानक भिषण बाढी आयो । बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा अकल्पनीय जनधनको क्षति गरेको छ । जनतालाई पुर्याएको अपूरणीय क्षतिले हाम्रो पार्टी स्तब्ध र दुःखित छ । बाढीमा परी निधन हुनुभएका सयौँ नागरिकहरूप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । बाढीमा परी घाइते हुनु भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
घटनाबारे सरकारसँग हाम्रो विशेष माग छ कि सबैभन्दा पहिलेः
१) बाढीको चपेटामा फसेका नागरिकहरूको उद्धारमा राज्यको सम्पूर्ण साधन स्रोत परिचालन गरोस् । पीडित नागरिकहरूको थप बिचल्ली नहोस् ।
२) घाइते नागरिकहरूको द्रुत उद्धार र निःशुल्क उपचारको व्यवस्था गरोस् । बाढीबाट सर्वस्व गुमाएका नागरिकको उचित व्यवस्थापन गरोस् ।
३) भोटेकोशी बाढीको प्रभाव र क्षति इतिहासकै ठूलो मध्ये भएकाले राज्य र नागरिक सम्मिलित विशेष राहत कोष खडा गरियोस् साथै संयुक्त परिचालन समिति निर्माण गरियोस् ।
४) यो विपत्तिमा देश र विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूमा सहयोगको अपिल गर्दछौँ ।
५) सबै मित्र देशहरूलाई अन्तर्राष्ट्रिय मानवीय भावनाको संस्कार अनुरूप राहत अभियानमा सहभागी बन्न विशेष अपिल गर्दछौँ ।
६) यो संकट र विपतको घडीमा युवा, विद्यार्थी, विभिन्न मोर्चा संगठनहरू सहित सिङ्गो पार्टी पंक्ति उद्धार, राहत र व्यवस्थापनका काममा विशेष सक्रियता सहित सहभागी बन्न विशेष अपिल गर्दछौँ ।
आदरणीय आमा बुवा, दाजुभाइ, दिदीबहिनी, प्राकृतिक विपत्तिले हामीलाई अपूरणीय क्षति र असिमित पीडा पक्कै दिएको छ । परन्तु यसले हामीलाई समाप्त पार्ने छैन । सिङ्गै देश एकढिक्का भएर विपत्तिबाट निस्कने छौँ । ‘

