भोटेकोशी बाढी : ७३४ जनाको शव फेला
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको जनाएको छ। प्राधिकरणको रिपोर्ट अनुसार बाढीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लाहरूसम्म पुगेका छन्।
प्राधिकरणको रिपोर्ट अनुसार चितवनमा २५९ जना , नवलपरासी पूर्वमा १८४ जना , नवलपरासी पश्चिममा ८२ जना , गोरखामा ५८ जना , नुवाकोटमा ५२ जना , धादिङमा ५० जना, तनहुँमा ३६ जना , रसुवामा १३ जना रहेका छन् भने २,४९८ जना सम्पर्कविहीन र ९३३ जलविद्युत् आयोजनाका कामदार रहेका छन्।
बाढीमा परी अझै २,४९८ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा विभिन्न सुरक्षा निकायका ८५ जना (सेना ४५, प्रहरी २७, सशस्त्र १३) समेत रहेका छन्। यस्तै, विभिन्न जलविद्युत् आयोजनाबाट मात्रै ९३३ जना कामदार सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेमा ५८९ विदेशी नागरिक र उनीहरूसँगै गएका १२७ नेपाली पर्यटन सहयोगीहरू समेत रहेका छन्। रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना बेपत्ता भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ।
विपद्पछि उद्धारका लागि देशभर १९,८९५ सुरक्षाकर्मी परिचालित भएका छन्। हालसम्म ८,१८६ जनाको जीवितै उद्धार गरिएको छ।
