एआई दौडमा युद्धमा चीन र अमेरिका ः एउटा पक्ष रोज्न दबाब !
काठमाडौँ । पछिल्लो समय विश्वभर कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा को अगाडि पुग्ने भन्ने होडबाजी चलिरहेको छ । यस दौडमा अमेरिका र चीनबीच कसले कसलाई उछिन्ने भन्ने प्रतिस्पर्धा चर्किएको छ । यसैबीच अमेरिकाले आफ्ना साझेदार तथा सहयोगी देशहरूलाई एआईमा अमेरिका वा चीनमध्ये एउटा पक्ष रोज्न दबाब दिने तयारी गरिरहेको छ । अमेरिकी नेतृत्वको एआई गठबन्धनमा सहभागी देशहरूले चीनले अघि सारेको प्रतिस्पर्धी एआई पहलको सदस्यता लिए उनीहरूलाई अमेरिकी नेतृत्वको संरचनाबाट बाहिर राख्न सकिने चेतावनी दिन लागिएको हो । समाचार एजेन्सी रोयटर्सले प्राप्त गरेको अमेरिकी विदेश मन्त्रालयको आन्तरिक मस्यौदा पत्र र एक अमेरिकी अधिकारीको भनाइअनुसार, अमेरिकासँग एआईसम्बन्धी सहकार्यका लागि प्रतिबद्धता जनाएका ३५ देशलाई उक्त पत्र पठाउने तयारी गरिएको छ । पत्रमा चीनको नाम सीधै उल्लेख गरिएको छैन । तर, यसमा चीनले अघि बढाइरहेको प्रतिस्पर्धी एआई योजनामा सहभागी हुने देशहरूलाई अमेरिकी योजनामा पनि आबद्ध हुन कठिन हुने स्पष्ट संकेत गरिएको छ ।
अमेरिकाले गत वर्ष एआई मोडल, सेमिकन्डक्टर चिप्स तथा महत्वपूर्ण खनिजको आपूर्ति शृंखला सुरक्षित गर्ने उद्देश्यले ‘प्याक्स सिलिका’ पहल अघि बढाएको थियो । यसमा करिव दुई दर्जन देश सहभागी भइसकेका छन् । जापान, अष्ट्रेलिया र दक्षिण कोरियाजस्ता अमेरिकाका निकट सहयोगी राष्ट्र पनि यस पहलका सदस्य छन् । तर, काजाकिस्तान अमेरिकी र चिनियाँ दुवै एआई गठबन्धनमा सहभागी भएको छ । यसरी दुवैतिर सामेल भएको भनेर नाम खुलेको देश अहिले काजाकिस्तान मात्रै हो । काजाकिस्तान महत्वपूर्ण खनिजको ठूलो सम्भावित स्रोत भएकाले उसको दोहोरो सहभागिताले अमेरिकी अधिकारीहरूको विशेष ध्यान तानेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि गत जुलाईमा ‘वल्र्ड आर्टिफिसियल इन्टेलिजेन्स कोअपरेसन अर्गनाइजेसन’ नामक प्रतिस्पर्धी संरचना अघि सारेका छन् । यसमार्फत चीनले आफ्नो खुला (ओपन–सोर्स) एआई प्रविधिलाई प्रवद्र्धन गर्दै एआई क्षेत्रमा अमेरिकी प्रभावलाई चुनौती दिने प्रयास गरिरहेको छ । अमेरिकाले भने अत्याधुनिक एआई प्रविधिलाई आर्थिक विकासका लागि मात्र नभई साइबर सुरक्षा, सैन्य क्षमता र राष्ट्रिय सुरक्षासँग समेत जोडिएको विषयका रूपमा हेर्दै आएको छ । त्यसैले एआई विकासका लागि आवश्यक चिप्स, ऊर्जा, डेटा, प्रविधि र महत्वपूर्ण खनिजको आपूर्ति नियन्त्रणलाई रणनीतिक महत्व दिइएको छ ।
अमेरिकी दबाबको अर्को महत्वपूर्ण कारण खनिज आपूर्ति पनि हो । अत्याधुनिक सेमिकन्डक्टर, ब्याट्री, विद्युतीय उपकरण तथा एआई पूर्वाधारमा प्रयोग हुने विभिन्न खनिजको विश्वव्यापी आपूर्तिमा चीनको ठूलो प्रभाव छ ।
अमेरिका र चीनबीच गत वर्ष सुरु भएको व्यापार तथा ट्यारिफ विवादका क्रममा चीनले महत्वपूर्ण खनिजमाथिको आफ्नो प्रभावलाई दबाब दिने औजारका रूपमा प्रयोग गरेको अमेरिकी अधिकारीहरूको बुझाइ छ । त्यसपछि अमेरिकी सरकारले आफ्नै देशमा खनिज उत्पादन बढाउनुका साथै सहयोगी राष्ट्रहरूबाट आपूर्ति सुरक्षित गर्ने प्रयास तीव्र पारेको छ । यही रणनीतिक प्रयासअन्तर्गत प्याक्स सिलिकाले अमेरिका र उसका साझेदारबीच एआई परियोजना, सेमिकन्डक्टर तथा महत्वपूर्ण खनिजसम्बन्धी संयुक्त लगानी र आपूर्ति शृंखला निर्माण गर्ने लक्ष्य राखेको छ । काजाकिस्तान यस दृष्टिले अमेरिकाका लागि विशेष महत्वपूर्ण छ । अमेरिकाले गत जुन महिनामा काजाकिस्तानलाई प्याक्स सिलिकामा सहभागी हुने मध्य एसियाको पहिलो देशका रूपमा स्वागत गरेको थियो ।
अमेरिकी विदेश मन्त्रालयको उक्त मस्यौदा पत्रमा भनिएको छ–‘सबैतिर हुनु भनेको कतै पनि नहुनु हो । प्याक्स सिलिका घोषणापत्रमा हस्ताक्षर केवल सदस्यताको सब्सक्रिप्सन मात्र होइन, प्रतिवद्धता पनि हो ।’ पत्रमा देशहरूलाई एआईसम्बन्धी आफ्नो सहकार्यबारे सचेत र स्पष्ट निर्णय लिन आग्रह गरिएको छ । एउटै देशले अमेरिकासँगको पहलमा जोडिएर त्यससँग प्रतिस्पर्धा गर्ने र फरक अपेक्षा तथा उद्देश्य बोकेको अर्को पहलमा सदस्यता लिन नसक्ने संकेत मस्यौदामा गरिएको छ । यद्यपि, यो पत्र अन्तिम रूपमा तयार भइसक्यो वा यसमा संशोधन हुन बाँकी छ भन्नेबारे स्पष्ट नभएको रोयटर्सले जनाएको छ । जानीजानी चुहाइएको आन्तरिक दस्तावेजका विषयमा आपूmले कुनै टिप्पणी नगर्ने अमेरिकी विदेश मन्त्रालयको भनाइ छ ।
अमेरिकी मस्यौदा पत्रबारे चीनले आपत्ति जनाएको छ । वासिङ्टनस्थित चिनियाँ दूतावासले व्यापार र प्रविधिको विषयलाई राजनीतीकरण गर्ने प्रयासको विरोध गर्दै यस्तो कदमले विश्वव्यापी एआई विकासलाई रोक्ने र कुनै पनि देशको हित नगर्ने प्रतिक्रिया दिएको छ । चीनले एआई प्रविधिको विकासमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउँदै आएको छ । बेइजिङले विशेषगरी विकासशील तथा अन्य देशहरूलाई आफ्नो खुला एआई प्रविधिमा पहुँच उपलब्ध गराउने विषयलाई अमेरिकी प्रविधि नियन्त्रणको विकल्पका रूपमा प्रस्तुत गर्दै आएको छ ।
प्याक्स सिलिका सम्झौताले अमेरिकी सहयोगी र साझेदारहरूलाई संयुक्त परियोजना र निर्यात नियन्त्रणतर्फ धकेल्ने र अन्ततः महत्वपूर्ण खनिज, एआई मोडल र तिनलाई शक्ति दिने सेमिकन्डक्टर चिप्सका लागि विरोधीहरूमाथिको निर्भरता कम गर्ने लक्ष्य राखेको छ । प्रविधिको क्षेत्रमा नेतृत्वका लागि अमेरिका र चीनबिचको दौड अहिले एक निर्णायक क्षणमा पुगेको छ । चीनका ओपन–वेट एआई मोडलहरूले ओपनएआई र एन्थ्रोपिकजस्ता अमेरिकी कम्पनीहरूको प्रोप्राइटरी प्रणालीलाई उछिनिरहेका छन् । प्रतिस्पर्धा चर्किँदै जाँदा चीनले पनि आफ्ना केही अग्रणी एआई मोडलहरूमा विदेशी पहुँचमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको छ । –रोयटर्स
