आज लुम्बिनी, गण्डकी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना
काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेकोजनाएको छ।
साथै, बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपास रहेको छ। यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै रूपमा उत्तरपश्चिमतर्फ र त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुँदै जाने सम्भावना रहेको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश भूभागमा बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग र कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा वर्षा हुनेछ। मधेश प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ। मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना हुनुका साथै मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आज राति पनि देशभर अधिकांश बदली नै रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग र कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा मध्यम वर्षा हुनेछ। कोशी र मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ।
रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मधेश प्रदेशका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ।
