कलाकार नीर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान
काठमाडौँ । वरिष्ठ कलाकार एवं गीतकार नीर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको छ। गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा पाँच दशकभन्दा लामो समयदेखि नेपाली कला तथा गीत–सङ्गीत क्षेत्रमा योगदान पुर्याउँदै आएका उनलाई नगद एक लाख ५१ हजारसहित सम्मानपत्र, माला र दोसल्लाले सम्मान गरिएको हो।
गीतकार शाहका ‘बादल बनाई देऊ आकार बदल्न सकुँ’, ‘गहिराइमा डुब्दै नडुब’, ‘पर्खी बसेँ आउला भनी’, ‘कहिलेकाहीँ हाँस्छु धेरै नै हाँस्छु’, ‘तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल’, ‘खुल्दैन ताल्चा त्यो ढोकाको’, ‘हिउँभन्दा चिसो, आगोभन्दा तातो’, ‘आँखैमा कसैको तस्बिर’, ‘अर्को जुनी चाहिँदैन मलाई’, ‘प्यारी वसन्ती’ र ‘पसिनाको जलैले’ लगायतका गीत चर्चित छन्।
यसैगरी, यस वर्षको ‘डायस्पोरा गीतकार सम्मान’ गीतकार नीलम आङ्बुहाङ राईलाई नगद १५ हजारसहित प्रदान गरिएको छ। विदेशमा रहेर पनि नेपाली गीत लेखनमा सक्रिय राईका ‘पुरानो हुँदैन माया’ र ‘पानी मिठो मेरो हजुर इलाम बजारको’ लगायतका गीत चर्चित छन्।
यस्तै ‘विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान’ लोहोरुङ राई भाषाका स्रष्टा नइन्द्र लोहोरुङ राईलाई नगद २५ हजार २५२ सहित प्रदान गरिएको छ।
‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान–२०८२’ बाट गीतकार सुशीला पौडेल र अरुण तिवारीलाई जनही १५ हजारसहित सम्मान गरिएको छ।
