दिल्लीमा २५० भन्दा बढी रेल बन्द, ४० हजार सुरक्षाकर्मी परिचालन
काठमाडौँ । भारतमा ककरोच जनता पार्टी (सीजेपी)को प्रदर्शनअघि नयाँ दिल्ली र हजरत निजामुद्दिन रेलवे स्टेसनबाट आवतजावत गर्ने २५० भन्दा बढी रेल रद्द गरिएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार, रेलवे बोर्डको निर्णयअनुसार हिजो दिउँसो २ बजेपछि आफ्ना प्रारम्भिक स्टेसनबाट छुट्ने यात्रुवाहक रेलहरू रद्द गरिएका हुन्। यसका साथै आज बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ दिल्ली वा हजरत निजामुद्दिन स्टेसनमा पुग्ने रेलहरू पनि रद्द गरिएको छ । ठूलो सङ्ख्यामा रेल यातायात रद्द गरिएपछि हजारौँ यात्रुले भोग्नुपर्ने असुविधालाई लिएर रेलवेको निर्णयमाथि प्रश्न उठेको छ।
रेलवेका पूर्वअधिकारी, यात्रु सङ्गठन र कर्मचारी महासङ्घहरूले यस कदमको आलोचना गरेका छन् । अर्कोतर्फ, दिल्ली मेट्रो रेल कर्पोरेसन डीएमआरसीले पनि ४५ वटा मेट्रो स्टेसनका प्रवेश तथा निकासद्वार बन्द गरेको छ।
ककरोच जनता पार्टीको प्रदर्शनअघि दिल्ली प्रहरीले जन्तरमन्तर र त्यस वरपरका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउनुका साथै विभिन्न प्रतिबन्धहरू लागू गरेको छ।
सरकारले लागि ४० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । सीजेपीको नेतृत्वमा हुन लागेको यस प्रदर्शनका लागि अनुमति दिइएको थिएन । यद्यपि, सीजेपीका नेताहरूले आफूहरू जन्तरमन्तर पुग्ने बताएका छन्। उनीबाहेक सीजेपीका संस्थापक अभिजित दीपके, सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक–राजनीतिक कार्यकर्ता योगेन्द्र यादव, आइसाकी अध्यक्ष नेहा बोरा र चर्चित युट्युबर ध्रुव राठीले पनि मानिसहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।
