हतियारबारे प्रचण्डलाई सोध : बादल

काठमाडौं । नेकपा- माओवादीका महासचिव रामबहादुर थापा बादलले आफूहरुसँग हतियार नरहेको र एउटै पार्टी हुँदा रहेका हतियारबारे प्रचण्ड नै जवाफदेही रहेको बताएका छन ।
सरकारले माओवादी नेताको सुरक्षार्थ रहेका हतियार फिर्ता गर्न आह्वान गरेपछि महसचिव बादलले सोमबार संक्षिप्त वक्तव्य जारी गर्दै हतियारको जवाफदेही एमाओवादी अध्यक्ष प्रचण्ड नै हुनुपर्ने बताएका छन । ‘एउटै पार्टी हुँदाको समयमा एनेकपा माओवादीका अध्यक्ष नै त्यसप्रकारका हतियार सम्बन्धी विषयको मुख्य जिम्मेवार भएको र के-कति हतियार बुझाइयो वा बुझाइएन भन्ने कुराको जवाफदेहीसमेत रहेको कुरा हामी यस वक्तव्यमार्फत जानकारी गराउन चाहन्छौं ।’- बादलद्वारा जारी वक्तव्यमा भनिएको छ । बादलद्वारा जारी वक्तव्यकोपूर्ण बिबरण यस प्रकार छ -“माओवादी नेतृत्वको सुरक्षार्थ राखिएका हतियारहरु फिर्ता गर्नेबारे समयसीमा तोकी जानकारी गराइएको र ती हतियार अझै फिर्ता नगरिएको भनी हाम्रो पार्टीप्रति विभिन्न माध्यमद्वारा संकेत गरिएकोमा त्यस तर्फ हाम्रो ध्यानाकर्षण भएको छ ।
पार्टी एउटै हुँदाको समयमा एनेकपा माओवादीका अध्यक्ष नै त्यसप्रकारका हतियार सम्बन्धी विषयको मुख्य जिम्मेवार भएको र के कति हतियार बुझाइयो वा बुझाइएन भन्ने कुराको जवाफदेही समेत रहेको कुरा हामी यस वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौं ।”