तीन दिनदेखि बन्द पूर्व पश्चिम राजमार्ग खुल्यो
काठमाडौं, – पूर्व सभासद सदरुल मिया हकको हत्याको विरोधमा तीन दिनदेखि जारी बन्द यातायात अहिले साँझदेखि खुलेको छ । पूर्वसभासद मियाको घरमै सुतिरहेका बेला सोमबार राति हत्या भएपछि मंगलबार विहानदेखि स्थानीय वासिन्दाले पूर्व पश्चिम राजमार्ग बन्द गरेका थिए । हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै स्थानीय बासिन्दा र आफन्तहरुले सप्तरी र सुनसरीका विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका छन् । शुक्रबार अन्तिम संस्कार गर्ने कार्यक्रम तय भएकाले बन्द यातायात खुलाइएको हो । माग पूरा नभए शुक्रबार साँझदेखि पुनः बन्द गर्ने पूर्वसभासद विश्वेन्द्र पासवानले बताए । ‘शुक्रबार विहान अन्तिम संस्कार गर्ने कार्यक्रम तय भएकाले बन्द यातायात खुलाइएको हो, यो बीचमा हामीहरुका माग पूरा हुनेमा हामी विश्वस्त छौं, सरकारले बेवास्ता गरे भोलि साँझ ६ बजेदेखि बन्द कार्यक्रमलाई पुनः निरन्तरता दिनेछौं,’ पासवानले भने । अन्तिम संस्कारका लागि टाढा–टाढाबाट मानिस आउनुपर्ने भएकाले यातायात खुलाइएको पासवानको भनाइ थियो । उनले सरकारले केही माग पूरा गरेको तर सहिद घोषणाको माग पूरा नभएको बताए । ‘सहिद घोषणालगायतका माग पूरा नभएसम्म बन्द कार्यक्रम रहिरहनेछ,’ उनले भने ।