निर्वाचनको प्रतिरोध गर:किरण

काठमाडौ, जेठ १८, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफ्नो मागको सुनुवाइ नगरी संविधानसभाको निर्वाचन गर्न खोजिए त्यसको प्रतिरोध गर्न युवाहरूलाई निर्देशन दिएका छन्।सम्बद्ध राष्ट्रिय युवा जनस्वयम्सेवक नेपालको केन्द्रीय समितिको बैठकमा अध्यक्ष किरणले यथास्थितिमा निर्वाचन गर्न खोजिए त्यसलाई असफल पार्ने प्रमुख भूमिका युवाहरूले निर्वाह गर्नुपर्ने बताउँदै त्यसका लागि तयार रहन निर्देशन दिएकोे जनस्वयम्सेवकका अध्यक्ष उदय चलाउनेले जानकारी दिए।अध्यक्ष किरणले २५ बुँदे बाधा अड्काउ फुकाउ र नागरिकता विधेयक खारेजीलगायतका माग सम्बोधन नभएसम्म आफ्नो पार्टी निर्वाचनमा सहभागी नहुने जानकारी दिँदै ती माग पूरा गराउन आवश्यक आन्दोलनको तयारी गर्नसमेत जनस्वयम्सेवकलाई निर्देशन दिएका थिए।उनले नागरिक समाज र पेसागत सङ्गठन पनि आफ्नो पार्टीको मागको पक्षमा उभिएकालेे मागको सुनुवाइका लागि दबाब बढ्दै गएको बताए।
बैठकमा जनस्वयमसेवकका ईञ्चार्जसमेत रहनुभएका माओवादी सचिव नेत्रविक्रम चन्दले जनस्वयमसेवकको काँधमा ऐतिहासिक जिम्मेवारी आइपुगेको बताउँदै पार्टीको योजना सफल पार्न अग्रपङ्क्तिमा उभिन युवाहरूलाई आग्रह गरे।स्वयम्सेवकले सुरु गरेको दुई महिने ‘राष्ट्रिय जनजागरण तथा प्रतिरोध अभियान’ को पनि बैठकमा समीक्षा गरिएको अध्यक्ष चलाउनेले बताए। चलाउनेले जनस्वयमसेवकको दुई महिने अभियान सफल भएको ठहर बैठकले गरेको जानकारी गराएका थिए। माओवादीका अधिकांश पूर्व लडाकुहरू आबद्ध रहेको जनस्वयमसेवकलाई माओवादीलेे फौजी सङ्गठनको रूपमा पनि लिइने गरिन्छ।