पशुपतिनाथमा नयाँ नियम
काठमाडौँ । हिजोआज पशुपतिनाथको दर्शन गर्नपुग्नेहरू अचम्ममा पर्छन् । पशुपतिमा चढाउन भनेर लगेको भेटी र फूलपाती हिजोआज मन्दिर भित्र लान पाईन्न । मूलढोका बाहिरकै भाँडामा ति कुरा खसाल्नुपर्छ । त्यहाँ पैसा हाल्न घ्याम्पो र फूल राख्न डोको राखिएको छ पशुपतिको मुलढोकामै । यो नयाँ नियमले धेरैलाई झुक्याउँछ । कतिपयले भने यसरी मन्दिर बाहिर चढाउन आनाकानी गर्छन् । उनीहरूलाई मन्दिरका कर्मचारीले सम्झाउँदै भन्छन- ‘यहाँ चढाएपनि भित्रै जाने हो ।’ सरकारले पशुपतिनाथको भेटी पारदर्शी गर्न पशुपति मन्दिर ब्यवस्था नियमावली लागू गरेपछि चैत २६ गतेदेखि कोषले यस्तो नियम लगाएको हो ।
कोषको यो नियम धेरैलाई चित्त बुझेको पनि छ । पहिले पशुपतिमा भक्तजनले चढाएको भेटी सबै पूजारी र भण्डारीको भाग लाग्थ्यो । नयाँ नियमावली लागू भएपछि पूजारीहरू तलवी कर्मचारी भएका छन् भने मन्दिरबाट संकलन गरिएको भेटी पशुपति क्षेत्र विकास कोषको सम्पत्ति हुन्छ । त्यसैले मन्दिरभित्र चढाउने भेटीलाई मन्दिर बाहिरै घ्याम्पोमा जम्मा पार्नथालिएको हो । तर नयाँ व्यवस्थाप्रति कतिपयलाई चित्त बुझेको छैन । उनीहरू आफूले लगेको भेटी र फूल पशुपतिनाथको मन्दिर भित्रै चढाउन पाएमा मात्रै पूण्य मिल्ने विश्वास गर्छन् । पशुपति क्षेत्र विकास कोषले मन्दिरको चारवटै ढोकामा पैसा राख्ने घ्याम्पो र फूल राख्ने भाँडो राखेको छ । चावी लाएर राखिएका घ्याम्पोमा खुत्रुकेमा झैं खसाइएको भेटी हरेकदिन बेलुकी गनेर बैंकमा जम्मा गर्ने गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम बैद्यले जानकारी दिए ।
नयाँ व्यवस्थाका बारेमा आएको प्रतिकृयाका बारेमा बैद्यले भने ‘यसबारे धेरै भक्तजनहरूबाट सकारात्मक प्रतिकृया नै आएको छ । केहीले हिन्दु धर्मसँग मेल खाएन की पनि भन्छ, त्यसलाई कसरी सम्वोधन गर्ने भनेर हामी पनि छलफल गर्दैछौं । यसैबिच, पशुपतिनाथ मन्दिरमा गत साउनदेखि अहिलेसम्म ४ करोड ३५ लाख ९८ हजार २ सय ४५ रूपैयाँ भेटी संकलन भएको छ । जेठ महिनाको ३० दिनमा मात्रै ५४ लाख ४१ हजार ६ सय ७९ रूपैयाँ जम्मा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार दिनमा १ लाख ५० हजार भन्दा धेरै भेटी संकलन हुने गरेको छ