भट्टराईद्वारा उपाध्यक्ष पद त्याग

२०७० असार १५ गते, शनिबार

काठमाडौं , १५ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकीकृत ने.क.पा.(माओवादी)को उपाध्यक्ष पदबाट राजिनामा दिएका छन् । एकीकृत माओवादीको जारी केन्द्रीय समिति वैठकमा पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समिति मनोनयनमा विवाद देखिएपछि दिक्दार बनेका भट्टराईले पार्टी सुद्धिकरणको अभियान आफैबाट सुरु गर्ने भन्दै केन्द्रीय समितिसामु राजिनामा दिएको वैठकमा उपस्थित एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
‘सबैलाई पदमा आफै हुनुपर्ने ? यो सर्वहारावर्गका नेता–कार्यकर्तालाई सुहाउने कुरा भएन,’ उपाध्यक्ष पद त्यागको घोषणा गर्दै डा. भट्टराईले भने, ‘कमिटी प्रणाली भद्दा भो । यसरी पार्टी चल्दैन । मैले उपाध्यक्ष पद त्यागेँ । साथीहरुले पनि आफ्ना दाबीहरु छाड्नुहोस् ।’जुनसुकै पदमा रहे पनि पार्टीका लागि अहिलेकै जत्तिको काम गर्न सक्ने डा. भट्टराईको जिकिर छ ।पार्टीमा पछिल्लो समयमा बढ्दै गएको पदलोलुप संस्कृतिले एमाओवादी नेतृत्वलाई निकै अप्ठ्यारोमा पारेको बताइएको छ । आफ्नो पार्टीका नेता–कार्यकर्तामा देखिएको पद र प्रतिष्ठाका लागि मरिहत्ते गर्ने संसदीय संस्कृतिबाट केही समययता अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष बाबुराम भट्टराई निकै वाक्कदिक्क भएको नेताद्वयका निकटस्थहरु बताउँछन् ।

प्रतिक्रियाहरु

[anycomment]