संविधानसभा निर्वाचन देश र जनताको पक्षमा छैन –किरण

पोखरा, १९ असार । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आगामी मङ्सिर ४ गते हुने दोस्रो संविधानसभा निर्वाचन देश र जनताको पक्षमा नभएको बताएका छन् ।गत शनिबारदेखि यहाँ भइरहेको पार्टी केन्द्रीय समितिको पूर्ण बैठकको समापनपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको पूर्ण बैठकका सहभागीहरुले सर्वसम्मत रुपमा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताए ।निर्वाचनबाट सही समाधान ननिस्कने देखेरै बहिष्कार गर्ने निर्णय लिनु परेको उनको भनाइ थियो ।चार दलीय ‘सिन्डिकेट’बाट गरिएको ११ बुँदे सहमति, बाधा अड्काउ फुकाउमार्फत अन्तरिम संविधानका २५ वटा धारा संशोधन, बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन जस्ताप्रक्रिया अलोकतान्त्रिक, असंवैधानिक र गलत भएको ठहर बैठकले गरेको बताउँदै अध्यक्ष किरणले संविधानभित्र रहेका दलहरु र बाहिरका सरोकारवालाहरुको गोलमेच सभामार्पmत राजनीतिक समाधान निकाल्नुपर्नेमा जोड दिए ।
संयुक्त सरकारको नेतृत्व राजनीतिक पार्टीबाटै हुनुपर्ने आफ्नो मागलाई बेवास्ता गर्दै चुनावको तिथिमिति तोक्ने, निर्वाचन आयोगद्वारा निर्वाचन कार्यक्रमका तालिका प्रकाशित गर्ने, मतदाता नामावली सङ्कलन गर्ने जस्ता कामअघि बढाइएकामा विरोध जनाउँदै उनले आफ्नो पार्टीलाई अलग्याएर हुने जुनसुकै काम स्वीकार गर्न सकिँदैन भने ।निर्वाचन बहिष्कारको क्रममा सिङ्गो पार्टी, सम्पूर्ण जनवर्गीय मोर्चा, आम नेपाली जनता र मोर्चामा आबद्ध ३३ दलहरुको संयुक्त बैठकबाट आन्दोलनको कार्यक्रम तय गर्ने पनि उनले जानकारी दिए ।
पत्रकारहरुको एक जिज्ञासामा अध्यक्ष वैद्यले एमाओवादीसँग एकीकरणको कुनै सम्भावना नरहेको प्रस्ट्याए ।