विपन्न नागरिक औषधि उपचार राहतमा वृद्धि

२०७० असार २१ गते, शुक्रबार

काठमाडौं,२१ असार – सरकारले टाउको र मेरुदण्डमा चोट लागेर थला परेकाहरूको उपचारका लागि एक लाख रुपैयाँसम्मको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । यतिमात्र नभई मृगौला प्रत्यारोपण गराउनेलाई दुई लाखसम्मको आर्थिक सहयोगसमेत उपलब्ध गराइनेछ ।यसअघि सरकारले क्यान्सर, मृगौला, मुटुरोग, पार्किन्सन्स र अल्जाइमर रोगबाट पीडितको उपचारका लागि ५० हजारसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको थियो । अब यी पाँचै रोग उपचार गर्नसमेत एक लाख सहयोग पाइनेछ । ‘मन्त्रिपरिषद्बाट स्वीकृत भएको विपन्न नागरिक औषधि उपचार आर्थिक सहायता कोष निर्देशिका अनुसार उक्त सहयोग दिइनेछ,’ स्वास्थ्य मन्त्रालय नीति योजना अन्तर्राष्ट्रिय महाशाखा प्रमुख डा.तीर्थराज बुर्लाकोटीले भने, ‘तर बिरामी आफैंले रकम पाउँदैन, मन्त्रालयले तोकेको अस्पतालमा उपचार सुविधा पाउँछन् र अस्पताललाई एक लाख बराबरको सेवा शुल्क सरकारले तिर्नेछ ।’
मन्त्रालयले मृगौला प्रत्यारोपण गराउन खोज्ने विपन्न नागरिकका लागि एक वर्षसम्म डायलासिस शुल्कसमेत बेहोर्ने जानकारी डा.बुर्लाकोटीले दिए । तर निःशुल्क डायलासिस गरिने उक्त एक वर्षको समयमा भने बिरामीले प्रत्यारोपण गराई सक्नुपर्छ । उपत्यका र मोफसल गरी मन्त्रालयले १७ वटा डायलासिस केन्द्रबाट निःशुल्क सुविधा उपलब्ध गराएको छ ।सरकारले हाल त्रिवि शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, वीर अस्पताललाई मृगौला प्रत्यारोपण केन्द्रको रूपमा तोकेको जनाउँदै डा.बुर्लाकोटीले यी अस्पतालमा निर्धारित समयभित्र प्रत्यारोपण गराउनेलाई कुल सेवा शुल्कमा दुई लाख मन्त्रालयले बेहोर्ने बताए । यो सुविधाका लागि बिरामीलाई हरेक जिल्लामा त्यहाँको सीडीओको अध्यक्षतामा रहेको विपन्न नागरिक राहत उपचार सिफारिस समितिबाट सिफारिस पत्र ल्याउनुपर्ने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार