इरानद्वारा अमेरिकाले पराजय स्वीकार नगरेसम्म होर्मुज नखोल्ने अडान

२०८३ श्रावण ३१ गते, आईतवार


काठमाडौँ । इरानले होर्मुज जलडमरू नखोल्ने अडान दोहो-याएको छ। इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले पराजय स्वीकार नगरेसम्म र ‘काल्पनिक कुरा’ गर्न नछाडेसम्म इरानले जलडमरूमा नाकाबन्दी जारी राख्ने बताएका हुन्। उनले होर्मुज जलडमरू इरानकै आदेशमा खुल्ने र बन्द हुने दाबी गरेका छन्। ‘होर्मुज जलडमरूलाई कुनै सामाजिक सञ्जाल पोस्ट, विमानवाहक युद्धपोत, आदेश वा चुनावी भाषणबाट कब्जा गर्न सकिँदैन,’ उनले भनेका छन्।
इरानी विदेशमन्त्री अब्बास अराक्चीले पनि अमेरिकासँग वार्ता पुनः शुरू गर्ने विषयमा कुनै निर्णय नभएको बताएका छन्। युद्धअघि विश्वको करिब पाँचमध्ये एक हिस्सा तेल ओसारपसार हुने यो जलमार्गबाट पुनः जहाज आवागमन शुरू गर्न अमेरिकाले केही सर्त पूरा गर्नुपर्ने उनको भनाइ छ।
युद्धका कारण अमेरिकामा पेट्रोलको मूल्य बढ्दै गएको छ। अमेरिकी अटोमोबाइल एसोसिएसनका अनुसार शुक्रबार एक ग्यालोन पेट्रोलको औसत मूल्य करिब ४.०८ डलर पुगेको थियो, जुन एक वर्षअघिको तुलनामा २९ प्रतिशत बढी हो।
राष्ट्रपति ट्रम्पले शुक्रबार न्युयोर्कको गार्डेन सिटीमा आयोजित राजनीतिक सभामा युद्ध जारी रहँदा अमेरिकीले पेट्रोलका लागि ‘थोरै बढी’ रकम तिर्नुपर्ने बताएका छन्। इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न त्यसको मूल्य चुकाउनु उचित हुने उनको भनाइ थियो।
ट्रम्पले इरानलाई ‘धेरै दुष्ट देश’को संज्ञा दिँदै युद्धमा इरानलाई पराजित गरेपछि आफूले होर्मुज जलडमरूलाई अमेरिकाको भूभाग घोषणा गर्ने दाबीसमेत गरेका छन्।
अमेरिकामा पेट्रोलको मूल्य बढ्नु ट्रम्पका लागि राजनीतिक चुनौतीसमेत बनेको छ। राष्ट्रपतीय निर्वाचनका क्रममा उनले ऊर्जा लागत घटाउने वाचा गरेका थिए। आगामी नोभेम्बरमा हुने कंग्रेस निर्वाचनमा डेमोक्र्याटहरूले युद्धका कारण अमेरिकी अर्थतन्त्रमा परेको प्रभावलाई चुनावी मुद्दा बनाउने प्रयास गरिरहेका छन्।
यसैबीच, कच्चा तेलको मूल्य पनि बढेको छ। शुक्रबार कच्चा तेलको वायदा मूल्य प्रतिब्यारेल एक डलर बढेको थियो। ब्रेन्ट कच्चा तेलको मूल्य साप्ताहिक रूपमा ६ प्रतिशत र वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ५.४ प्रतिशत बढ्ने क्रममा थियो।
युद्ध शुरू हुनुअघि दैनिक १३० भन्दा बढी जहाज आवतजावत गर्ने होर्मुज जलडमरूबाट शुक्रबार दुईवटा मात्र जहाज पार भएका थिए। जहाज ट्र्याकिङ कम्पनी केप्लरको विश्लेषणअनुसार ती जहाजबाट कच्चा तेल ढुवानी भएको देखिएको छैन। केही जहाजले ट्रान्सपोन्डर बन्द गरेर इरानको निगरानीबाट बच्दै जलडमरू पार गरेको हुन सक्ने भए पनि नियमित आवागमनको तुलनामा यो संख्या अत्यन्त न्यून हो। इरानको अनुमति नलिई जलडमरूमा प्रवेश गर्ने जहाजमाथि क्षेप्यास्त्र वा ड्रोन आक्रमणको जोखिम रहेको बताइएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई)ले शुक्रबार अबुधाबी नेसनल आयल कम्पनी (एडीएनओसी)द्वारा सञ्चालित अर्को एउटा जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएको छ। यूएईले यसअघि बिहीबार साँझ पनि एडीएनओसीका दुईवटा जहाजसँग सम्बन्धित घटनामा इरानलाई दोष दिएको थियो।
बेलायतको युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन्स केन्द्रले शुक्रबार होर्मुजमा एउटा मालवाहक जहाजको बाहिरी भागमा अज्ञात प्रक्षेप्यास्त्रले प्रहार गरेको जनाएको छ। यो घटना एडीएनओसीको जहाजमाथिको आक्रमणसँग सम्बन्धित भए÷नभएको स्पष्ट भइसकेको छैन। इरानले अमेरिकासामु कडा अडान प्रस्तुत गरिरहे पनि त्यहाँ युद्धको आर्थिक असर देखिन थालेको छ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियनले सरकारी टेलिभिजनमार्फत बोल्दै अमेरिकाले इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी र इरानको तेल निर्यातमाथिको प्रतिबन्धका कारण उच्च मुद्रास्फीति भएको बताएका छन्।
यसअघि युद्ध अन्त्यका लागि भएको भनिएको जुन महिनाको सम्भावित सम्झौता पनि अहिले संकटमा परेको छ। विदेशमन्त्री अराक्चीले युद्धविराम विस्तार गर्ने प्रश्न नै नरहेको भन्दै ‘पहिले युद्धविराम भएको थिएन, युद्धको अन्त्य भएको थियो र अहिले नयाँ परिस्थिति सिर्जना भएको’ बताएका छन्।
यसैबीच यमनमा इरानसमर्थित हुथी विद्रोहीको गतिविधिले क्षेत्रीय युद्ध थप फैलिन सक्ने चिन्ता बढाएको छ। यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथीहरूले शुक्रबार लाल सागरस्थित मोखा बन्दरगाहमा ६ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको र त्यसबाट चार सर्वसाधारणको मृत्यु भएको जनाएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु