अर्को १२ बुँदे सहमति जरुरी छ : बिप्लव

सुर्खेत, ३ साउन – नेकपा–माओवादी सचिव नेत्रविक्रम चन्द बिप्लवले चारदलीय संयन्त्रको सिन्डिकेट रहेसम्म आफ्नो पार्टी वार्तामा नबस्ने बताएका छन्। आगामी वार्ता सर्तरहीत हुनुपर्नेमा पनि बिप्लवले जोड दिए। ‘वर्तमान सरकार र चार दलले हामीलाई हातखुट्टा बाँधेर वार्तामा बसाल्न खोजिरहेका छन्,’ वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यस्तो अवस्थामा कसरी वार्ता हुन्छ?’ मंसिर ४ गतेको निर्वाचन र चारदलीय संयन्त्र खारेजी वार्ताको मूल माग रहेको बिप्लवले बताए।सचिव बिप्लवले मंसिर ४ गते बलजफ्ती चिर्वाचन गर्न खोजिए नेकपा–माओवादीलगायत दलको मोर्चाले प्रतिरोध गर्ने चेतावनी दिए। ‘जनयुद्ध’ लडेर आएको पार्टीलाई बाहिर राखेर चुनाव गर्न खोजिए देशमा रक्तपात हुने उनले बताए।
‘अहिलेकै अवस्थामा चुनाव गर्न खोजिए हतियार उठाएर सशस्त्र प्रतिरोध गरिन्छ,’ पार्टीमा सशस्त्र विद्रोही नेताको रुपमा परिचित बिप्लवले भने, ‘हाम्रो पार्टीलाई कुनै पनि प्रक्रियामा बाहिर राखेर समस्याको समाधान खोजिन्छ भने कसैले कल्पना नगरे हुन्छ।’ उनले निर्वाचन विथोल्न बुथहरुमा युवा दस्ता परिचालन गर्ने तयारी भइरहेको बताए।बिप्लवले वर्तमान राजनीतिक निकासको लागि अर्को १२ बुँदे सहमतिको आवश्यकता रहेको औंल्याए। ‘हामीले जनयुद्ध त्याग्दा दिल्लीमा १२ बुँदे सहमति भएको थियो,’ उनले भने, ‘अबको निकासको लागि नेपालमै बसेर नेपालका राजनीतिक दलहरुबीच अर्को १२ बुँदे सहमति जरुरी छ।’