विद्युत महशुल तत्काल नबढ्ने
काठमाडौ, ८ माघ । विद्युत महसुल निर्धारण आयोगका अध्यक्ष गणेश सुब्बाले आयोगले दिएको निर्देशन र सुझाब विद्युत प्राधिकरणले कार्यान्वयन गरे विद्युत महसुल नबढ्ने बताए । विद्युतको महसुल बढ्ने या नबढ्ने भन्नेमा अहिले कुनै निर्णय भइनसकेको उनले बताएका छन् ।
प्राधिकरणले घाटा बढ्दै गएको भन्दै २० प्रतिशत विद्युत महसुल बढाउन आयोगमा प्रस्ताव गरेको थियो । प्रस्ताव प्राप्त भएपछि सरोकारवालाहरुसँग आयोगले छलफल गर्ने र त्यसपछि मात्रै निष्कर्षमा पुग्ने आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष सुब्बाले आयोगले दिएको सुझाब कार्यान्वयन भए÷नभएको विस्तृत अध्ययन गरेपछि मात्रै महसुल बढाउने÷नबढाउने विषयमा निष्कर्षमा पुगिने बताए ।आयोगले अध्ययनका लागि उपसमिति बनाइएको जनाएको छ । निजी क्षेत्रले भने आयोगले दिएको सुझाब प्राधिकरणले कार्यान्वयन नगरेको भन्दै कुनै पनि हालतमा विद्युत महसुल बढाउन नहुने जनाएको छ । यसअघि आयोगले प्राधिकरणलाई लोडसेडिङ न्यूनिकरण र प्राधिकरण सुधार कार्ययोजना कार्यान्वयन गर्न, विद्युत चुहावट नियन्त्रण गर्न निर्देशन तथा सुझाव दिएको थियो ।