डलरको मूल्य फेरि आकासियो
काठमाडौं १५ माघ। अमेरिकी डलरको मूल्य फेरि बढ्न थालेको छ। भारतीय रुपैयाँ कमजोर हुन थालेपछि यसको असर नेपाली रुपैयाँमा देखिएको हो। नेपाली रुपैयाँ कमजोर भएपछि अमेरिकी डलर चार महिनायताकै उच्च मूल्यमा कारोबार भएको हो।नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको मूल्य एक सय रुपैयाँ २७ प्रसा तोके पनि वाणिज्य बैंकहरुले एक सय रुपैयाँ ६० पैसासम्म कारोबार गरेका छन्। दिउँसोबाट भारु सामान्य बलियो बनेपछि नेपालमा एक डलरको मूल्य एक सय रुपैयाँ २० पैसा कायम भएको थियो।बैंकहरुले दिनभर दुई–तीनपटक नै डलरको मूल्य थप–घट गर्दै कारोबार गरेका छन्। बैंकहरुको विदेशी मुद्रा कारोबार गर्ने विभागहरुको संगठन फेडानले मूल्य पटकपटक परिवर्तन गरेका थिए। केही बैंकले एक सय रुपैयाँ ६० पैसासम्म कारोबार गरेका छन्। साधारणतया फेडानले तोकेको अन्तिम मूल्यलाई आधार मानेर राष्ट्र बैंकको अर्को दिनको मूल्य निर्धारण गर्छ।
राष्ट्र बैंकले तोकेको मूल्यमा कारोबार गर्न बैंक बाध्य हुँदैनन्। भारतीय बजारलाई हेरेर बैंकहरुले मूल्य तलमाथि गरिरहन्छन्। भारतीय केन्द्रीय बैंकले भारु अवमूल्यन रोक्न कार्यक्रम नल्याएपछि डलर थप बलियो भएको हो। भारतीय डिलरहरुले रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले हस्तक्षेप गर्ने अनुमान गरिरहेका छन्। आरबिआईले हस्तक्षेप गर्ने समाचारका कारण बजार सामान्य घटेर बन्द भएको छ। एक अमेरिकी डलरको मूल्य भारतमा ६३.२० भारुको हाराहारीमा पुगेको थियो। बजार भारु ६३ को हाराहारीमा बन्द भएको थियो।
डलरलाई अन्तर्राष्ट्रिय रुपमा नै सुरक्षित (सेफ करेन्सी) मुद्राका रुपमा लिइन्छ। डलर बलियो हुन थालेपछि जोखिमपूर्ण मुद्रा (रिस्क करेन्सी) मानिने पाउन्ड र युरोको मूल्य पनि कमजोर भएको छ।
भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो हुन्छ।डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आय बढ्छ। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्छ। वस्तु तथा सेवा निकासीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमेत बढ्छ। हस्तकलालगायत नेपाली सामानका निकासीकर्ताको आम्दानी बढ्छ।डलरको मूल्यवृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्यवृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ।
भारतबाहेकका देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्स सामान, लत्ताकपडा लगायत महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।सबैभन्दा बढी असर पेट्रोलियम पदार्थको आयातमा पर्ने छ। कूल आयातको २८ प्रतिशत ओगट्ने पेट्रोलियम पदार्थ भिœयाउन बढी डलर खर्चिनु पर्ने भएकाले भाउ बढ्न सक्छ। निगमले गत वर्ष सवा एक खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो।