टेलिकमको वार्षिकोत्सवमा विभिन्न छुट

२०७० माघ २३ गते, बिहीबार


काठमाडौं, २३ माघ । नेपाल टेलिकमले १०औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न छुट योजना सार्वजनिक गरेको छ । टेलिकमको बुधबार आयोजित वार्षिकोत्सवमा प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले जम्मा २० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न सकिने सेवा प्रदान गरेको जानकारी गराए ।यो छुट सेवा तीन महिना अवधिको लागि मात्रै रहेको बताइएको छ । यस्तै, माघ २२ गतेदेखि नै लागू हुने गरी जीएसएम तथा सिडिएमए पोष्टपेड मोबाइल सेवाको नयाँ सीमका लागि २ हजार १ सय ३० बाट परिमार्जन गरी १ हजार ४ सय ३० रुपैयाँ कायम गरेको टेलिकमले जनाएको छ ।
प्रबन्ध निर्देशक भट्टराईले सार्वजनिक खरिद ऐनका कारण प्रविधि विकासका लागि अप्ठ्यारो परिस्थितिको सामाना गर्नुपरेको भन्दै कानुनी व्यवस्थालाई सरलीकरण गरिनुपर्नेमा जोड दिए ।कार्यक्रममा सूचना तथा संचार मन्त्री माधवप्रसाद पौडेलले संस्थागत सुशासनलाई ध्यान दिन सकिए टेलिकम दक्षिण एसियाकै नमुना दूरसंचार कम्पनी बन्न सक्ने बताए । उनले मन्त्रीको हैसियतमा टेलिकममा कुनै हस्तक्षेप नगरेको दाबी गर्दै राजनीतिक हस्तक्षेप नहुँदाको फाइदा कम्पनीले देखाउन सक्नुपर्ने पनि बताए । उनले चुस्त व्यवस्थापन र उच्चस्तरको अन्तर्राष्ट्रिय प्रविधि भित्र्याउन रणनीतिक साझेदार ल्याउन खोजिएको बताए ।पूर्व सञ्चार सचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले कम्पनीको विकासका लागि आयोग सधैं सहयोगीको रुपमा अगाडि आउने प्रष्ट पारे । तर, कानूनको पालन भने सबैले गर्नुपर्ने उनको भनाइ थियो ।
यस्तै, मुख्यसचिव लिलामणी पौड्यालले धेरै सार्वजनिक संस्था सरकारको बोझ बनेपनि टेलिकम भने राष्ट्रको गौरव बनेको टिप्पणी गरे । साथै उनले टेलिकमले पनि आफूलाई दूरसंचारको क्षेत्रमा पहिलो स्थानमा राखिरहन गर्नुपर्ने काम पनि नगरेकोमा गुनासो पनि गरे ।स्थापना कालमा ४ लाख २२ हजार संख्या ग्राहक आधार रहेको टेलिकमको हाल ग्राहक संख्या ९९ लाख ९७ हजार नाघिसकेको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु