‘नाडा अटो शो’ भदौ २६ देखि
काठमाडौँ । यही भदौ २६ गतेदेखि ३० गतेसम्म राजधानीको भृकुटीमण्डपमा गाडीहरुको ‘नाडा अटो शो’ हुने भएको छ । मेला नेपाल अटोमोबाइल डिलर्स एसोसियसनले आयोजना गर्न लागेको हो । उक्त मेलामा एक सयवटा स्टलहरु रहनेछन् । अटो शोमा विभिन्न ८ देशका ४५ वटा कम्पनीहरुको सहभागिता रहने मेलाका संयोजक एवं नाडाका उपाध्यक्ष शम्भुप्रसाद दाहालले बताए । मेलाको बारेमा जानकारी दिन सोमबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले विभिन्न कम्पनीले बजारमा ल्याएका नयाँ सवारी साधनहरु प्रदर्शनीमा राखिने जानकारी दिए । उनका अनुसार मेलामा सवारी साधन खरिद गर्दा कम्पनीहरुले विशेष छुट उपलब्ध गराउनेछन् । मेलामा खासगरी नेपाल, भारत, चीन, कोरिया, जापान, अमेरिका, जर्मनी, चेक गणतन्त्रलगायतका मुलुकहरुको सहभागिता रहने बताइएको छ । चारपाङग्रे, दुइ पाङग्रे र व्यवसायिक सवारी साधनहरु मेलामा राखिने भएको छ । साथै, स्पेयर पार्टस्, लुब्रिकेन्ट्स, जेनेरेटर, ब्याट्री र अन्य एसेसरिजहरु समेत मेलामा प्रदर्शनी तथा बिक्रीमा राखिने मेला संयोजक दाहालले जानकारी दिए । ५० हजार उपभोक्ताले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा चार पाङ्ग्रे, दुइ पाङ्ग्रे र व्यवसायीक सवारीका अलग-अलग पेभिलियन रहनेछन् । जसले गर्दा अवलोकनकर्ताहरुलाई सहज हुने अपेक्षा आयोजकले लिएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुको समेत मेलामा स्टल रहनेछ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मेलामा ८ ब्रण्डका २ पाङ्ग्रे, १२ ब्रण्डका चार पाङ्ग्रे सवारी पर््रदर्शन गरिनेछ । प्रदर्शनी स्थललाई व्यवस्थित गर्न आयोजकले व्यवस्थित पार्किङ, शौचालय, चौविसै घण्टा सुरक्षा गार्डको व्यवस्था गरिने जनाएको छ । यस पटक प्रदर्शनीस्थलको समेत विमा गरिएको बताइएको छ ।
