विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशतले वृद्धि

२०८३ बैशाख २९ गते, मंगलवार


काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशत बढेर ३४ खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको जनाएको छ । राष्ट्र बैंकले गत असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्ष ९ महिना (चैत मसान्त) सम्म ३०.५ प्रतिशत बढेर ३४ खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको जनाएको हो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा असार मसान्तसम्म १९ अर्ब ५० करोड बराबर रहेको सञ्चिति चैत मसान्तसम्म २०.८ प्रतिशत बढेर २३ अर्ब ५५ करोड पुगेको छ । उक्त सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तसम्म २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा चैतसम्म २७.७ प्रतिशत वृद्धि भई ३० खर्ब ८२ अर्ब पुगेको छ । अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति असार मसान्तसम्म २ खर्ब ६३ अर्ब रहेकोमा ५६.८ प्रतिशतले वृद्धि भई ४ खर्ब १२ अर्ब ३२ करोड पुगेको छ । ९ महिनासम्मको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।
राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुपात ५७.२ प्रतिशत बराबर छ । असार मसान्तमा यस्तो अनुपात ४३.८ प्रतिशत थियो । ९ महिनामा कुल वस्तु निर्यात २ खर्ब २२ अर्ब ९४ करोड र कुल आयात १४ खर्ब ९० अर्ब ५० करोड पुगेको छ ।
यसैगरी, राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष चैतसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले मात्रै बढेको छ । यो वृद्धि गत आव सोही अवधिको तुलनामा करिब २ प्रतिशत बिन्दुले थोरै हो । राष्ट्र बैंकका अनुसार ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ बराबर कर्जा निजी क्षेत्रमा लगानी भएको छ । बैंक तथा वित्तीय संस्थाले चालु आव चैतसम्म गरेको कर्जा लगानी कुल ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
गत आव चैतसम्म बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फको कर्जा लगानी ७.१ प्रतिशत बढेको थियो । गत आव ३ खर्ब ६१ अर्ब ३ करोडले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.९ प्रतिशतले बढेको छ ।
२०८२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत छ । गत आव सोही अवधिमा यस्तो अंश क्रमश: ६३.४ र ३६.६ प्रतिशत थियो ।
चालु आव चैतसम्म निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ५.८ प्रतिशत, विकास बैंक ५.१ र वित्त कम्पनीको २.६ प्रतिशत बढेको छ ।
२०८२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणमा १४.९ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६३.४ प्रतिशत छ ।
२०८१ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जा अंश क्रमश: १४.६ र ६५.२ प्रतिशत थियो । २०८२/८३ नौ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा ११.७, निर्माण क्षेत्र १०.७, यातायात, सञ्चार तथा सार्वजनिक सेवा १०.१, औद्योगिक उत्पादन ६.५, वित्त बीमा तथा अचल सम्पत्ति ५.७ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशत बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.३ प्रतिशत घटेको छ ।
चालु आव चैतसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये ट्रस्ट रिसिट (आयात) कर्जा ३२ प्रतिशत, मार्जिन प्रकृति १३.४, हायर पर्चेज ८.५, रियल इस्टेट (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.६, माग तथा अन्य चालु पूँजी ४.३, आवधिक ३.७, क्यास क्रेडिट २.८ र अधिविकर्ष कर्जा ०.३ प्रतिशत बढेको छ ।
यसैगरी, राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ९ महिनाको तथ्यांक अनुसार अघिल्लो वर्ष सोही महिनामा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत रहेकामा यस वर्ष मूल्यवृद्धिमा केही चाप देखिएको हो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.०१ प्रतिशत कायम भएको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत छ । गत वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमश: २.४५ र ३.९० प्रतिशतमात्र थियो ।
यद्यपि, समग्र आव २०८२/८३ को ९ महिनाको औसत मुद्रास्फीति भने २.३९ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.५७ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत केही उपसमूहको मूल्यमा उच्च वृद्धि देखिएको छ भने केहीमा गिरावट आएको छ ।
घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक सबैभन्दा बढी १२.८७ प्रतिशत बढेको छ भने फलफूल मूल्यमा ११.६७ प्रतिशत र तरकारीमा ९.१८ प्रतिशतको वृद्धि देखिएको छ । अर्कातर्फ, दाल तथा गेडागुडीको मूल्य सूचकांक २.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ १.६८ र मरमसलाको १.६४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको मूल्यमा १९.९४ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ । यस्तै यातायात क्षेत्रको मूल्य १२.०३ प्रतिशत, शिक्षा ७.४६, मदिराजन्य पेय पदार्थ ४.७७ र कपडा तथा जुत्ताचप्पलको ४.७३ प्रतिशत बढेको छ ।
भौगोलिक आधारमा विश्लेषण गर्दा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा मूल्यवृद्धिको दर केही उच्च देखिएको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.७१ प्रतिशत बढ्दा सहरी क्षेत्रमा ४.७४ प्रतिशत बढेको छ ।
प्रदेशगत रूपमा लुम्बिनीमा सबैभन्दा बढी ५.१५ प्रतिशत मुद्रास्फीति देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ३.३९ प्रतिशत छ ।अन्य प्रदेशमा कोशी ४.९८, मधेस ४.९१, बागमती ४.२०, गण्डकी ३.८५ र कर्णालीको ३.८२ प्रतिशत छ । क्षेत्रगत आधारमा तराईमा ४.८३ प्रतिशत, काठमाडौं उपत्यका ४.६९, पहाड ४.१८ र हिमालमा ३.२० प्रतिशत मुद्रास्फीति कायम भएको छ ।
थोक मुद्रास्फीतितर्फ चैत २०८२ मा वार्षिक बिन्दुगत वृद्धिदर ३.९२ प्रतिशत छ, जुन अघिल्लो वर्ष सोही महिनामा ४.२० प्रतिशत थियो । यस अवधिमा उपभोग्य वस्तुको थोक मुद्रास्फीति ५.६० प्रतिशतले ऋणात्मक रहे पनि मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मुद्रास्फीति क्रमश: ९.९५ र ४.१४ प्रतिशत छ । साथै, निर्माण सामग्री थोक मूल्य सूचकांकमा पनि १.९७ प्रतिशतको सामान्य वृद्धि देखिएको छ ।
चालु आव २०८२/८३ तेस्रो त्रैमासमा तलब तथा ज्याला सूचकांकमा पनि अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार आएको छ । वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांक ६.३० प्रतिशतले वृद्धि भएको छ, जबकि अघिल्लो वर्ष सोही त्रैमासमा यस्तो वृद्धिदर २.६० प्रतिशतमात्र थियो ।
प्रदेशगत रूपमा गण्डकीमा तलब तथा ज्याला वृद्धिदर १०.४० प्रतिशतका साथ सबैभन्दा उच्च छ भने कर्णालीमा १.१५ प्रतिशतको न्यून वृद्धि देखिएको छ । अन्य प्रदेशमा कोशी ८.४५, लुम्बिनी ८.५४, सुदूरपश्चिम ५.८३, बागमती ५.०३ र मधेस ३.७५ प्रतिशतले ज्याला बढेको छ ।
अन्तर्राष्ट्रिय सन्दर्भमा नेपालको मुद्रास्फीति छिमेकी भारतको तुलनामा केही बढी देखिएको छ । सन् २०२६ मार्च (चैत २०८२) मा भारतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४० प्रतिशत रहँदा नेपालमा सोही अवधिमा ४.४७ प्रतिशत पुगेको छ ।
यसैगरी, चालु आर्थिक वर्ष चैतसम्म मुलुकको शोधनान्तर स्थिति अर्थात् भुक्तानी अवस्था (ब्यालेन्स अफ पेमेन्ट) ७ खर्ब ३१ अर्बले बचतमा देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय स्थितिअनुसार चैत मसान्तसम्म शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब रुपैयाँ बराबर बचतमा देखिएको हो । शोधनातर स्थिति बचतमा रहनु भनेको समग्रमा मुलुकबाट बाहिरिनेभन्दा मुलुकमा भित्रिने रकम बढी हुनु हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यसै अवधिमा २ अर्ब ५५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब १० करोड डलर बचतमा पुगेको हो ।
त्यस्तै समीक्षा अवधिमा चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब २२ अर्ब ६७ करोडले बचतमा रहेको थियो ।
चालु आवको ९ महिनामा १४ अर्ब ५५ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ९४ करोड भित्रिएको थियो ।
यसैगरी, चालु आर्थिक वर्ष चैत महिनामा हालसम्मकै धेरै २ खर्ब ९ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँदा रेमिट्यान्स आप्रवाह बढेको हो । केन्द्रीय बैंकका अनुसार एक अमेरिकी डलर बराबर १ सय ५२ रुपैयाँ पुगेको छ । पछिल्लो महिना रुपैयाँ हालसम्मकै कमजोर भएको अवस्था हो । भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर भएपछि रेमिट्यान्समा सुधार आएको हो । नेपाली रुपैयाँ कमजोर र बलियो हुने भारुका आधारमा हो । भारुसँगको स्थिर विनिमयदरले डलरको तुलनामा भारुको अवस्था अनुसार रुपैयाँ घटबढ हुन्छ ।
चालु आव असोजमा २ खर्ब १ अर्ब रेमिट्यान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव चैतसम्म रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ । गत आव सोही अवधिमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेको थियो । चैत २०८२ मा रेमिट्यान्स आप्रवाह २ खर्ब ९ अर्ब ७५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ । गत आव सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ३९ अर्ब ५४ करोड थियो ।
चालु आव चैतसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आप्रवाह ७.५ प्रतिशत बढेको थियो ।
चालु आव चैतसम्म खुद द्वितीय आय (खुद ट्रान्स्फर) १८ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड थियो ।
चालु आव चैतसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ९४ हजार १ सय ८६ र पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख ९३ हजार २ सय ५९ छ । गत आव सोही अवधिको तुलनामा यस्तो संख्या क्रमश: ३ लाख ५८ हजार २ सय २२ र २ लाख ४९ हजार ६ सय ५२ थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मूल्य पारदर्शिता सप्ताह सुरु हुँदै

२०८३ बैशाख २७ गते, आईतवार

नेप्से २७.४९ अंकले बढ्यो

२०८३ बैशाख २५ गते, शुक्रबार

नेप्से ६.९४ अंकले बढ्यो

२०८३ बैशाख २४ गते, बिहीबार