बालेन सरकारका संभावना र चुनौती

२०८३ बैशाख २९ गते, मंगलवार

विष्णु पन्त

धेरै मान्छेहरुलाई लाग्छ, बालेन सरकार चुनौतीरहित छ किनकि उसँग संसदमा दुईतिहाई मत छ । कतिपयलाई लागेको छ, राष्ट्रिय सभामा उसको शुन्य उपस्थिति छ । सरकार बनेसंगै प्रधानमन्त्रीको सोचमा यस्तो भ्रम थियो कि अब म जेपनि गर्न सक्छु । सरकारले सबैजसो पुराना दलका नेताहरूलाई जेल हाल्ने सूची नै बनाएको थियो । तर परिणाम के भयो ? महिना दिन पनि नबित्दै गृहमन्त्री सुधन गुरुङले पदबाट राजिनामा दिनुप¥यो । सरकारले रीश उठेका नेता र व्यवसायीलाई थुन्ने र अपमानित गर्ने काम ग¥यो तर अदालतले त्यसलाई केही हदसम्म अंकुश लगायो । सरकारले अब अदालत र नियुक्ति अनि अध्यादेशमा पाइला चालेको छ । परिणाममा हेर्न बाँकी नै छ । यसको अन्त्य कहाँ हुन्छ ? प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिको सरकारी प्रयोग कस्तो हुन्छ ? सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसमा बरियता मिचेर चौथो बरियताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ । बालेन मनोविज्ञान भन्छ, दुईतिहाई बहुमत र लोकप्रियताका कारण “म नै कानुन हुँ” । अर्को भाषामा “मनै वा म मात्र राज्य हुँ” । देशलाई केबल मैले मात्र बुझेको छु । यहाँसम्म कि प्रधानमन्त्री बालेन्द्र शाहको रास्वपा भित्र पनि खासै सरोकार र चासो भएको देखिदैन । उनले पार्टीलाई खासै महत्व दिएका छैनन । नत सरकार वा मन्त्रिपरिषद निर्माणमा दलको सशक्त भूमिका देखियो नत सरकार संचालनमा नै । पार्टी, संगठन र दलको निर्माणमा उनको कुनै ध्यान छैन किनकि उनलाई लागेको छ, केबल मेरो व्यक्तिगत लोकप्रियता, क्रेज र आकर्षणले गर्दा नै चुनाव जितिएको हो । वालेन मनोविज्ञानको सबैभन्दा खतर्नाक कुरा के छ भने, राजनीतिमा कहिलेकाही पछाडि हट्नुपर्छ भन्ने चेत छैन । उनलाई लागेको छ, म सधै जित्छु र सबै दल मिलेपनि मलाई हराउन सक्दैनन । उनमा लोकतान्त्रिक भन्दापनि निरङ्कुश, तानाशाही र शक्तिशाली बन्ने ईच्छा प्रबल छ । विकास, परिवर्तन र नयाँको नाममा जेगरेपनि जनताको समर्थन प्राप्त हुन्छ भन्ने भ्रम भनौं वा विश्वास उनिभित्र छ । गत चुनावमा रास्वपाको पक्षमा आएको अप्रत्याशित सफलताले पुराना दल र नेताहरूलाई कुचो लगाएजस्तै बढार्न सफल भएपछि बालेन साह साँच्चिकै शक्तिशाली र चमत्कारीक सावित भए । समग्रमा भन्दा बालेन सरकारका संभावना र चुनौती दुबै उत्तिकै तौलका छन । सरकारका बलिया पक्षहरूलाई हेरौँ ः

१. बालेन जनमत भन्छ– पुराना दलको विरोध र पुराना निर्णयमा ध्वांश । पुराना दल र नेतृत्वप्रतिको रीस, आक्रोश र घृणाबाट बालेन जनमतको जन्म भएको हो । उनीहरूको आम भाष्य छन्– पुराना सबै खराब छन्, पुरानाले देश लुटेर खोक्रो बनाए, भ्रष्टाचारको छानबिन गर्न पुराना दलभित्र पसे हुन्छ, युवाहरूलाई विदेश पठउने र देशमा बेरोजगार बनाउने काम पुरानाले गरे । सरकारी मनोविज्ञानको एउटा नारा नै रहेछ– सरकारले अरु केही गर्नु पर्दैन, खाली पुरानाले जे गरे, त्यसको ठीक उल्टो गरे हुन्छ । रास्वपा, बालेन र घण्टी बाहेक अरु सबै पुराना हुन भन्ने उनीहरूको बझाई छ ।

२. विचार, दर्शन, राजनीति र संगठन प्रति घृणा– बालेन जनमत बिचारधारात्मक बहसबाट निराश वा पथभ्रष्ट भएको समूह र चेतना हो । उसले शुरुमै विद्यार्थी संगठन, कर्मचारी संगठन र मजदुर संगठनहरुलाई खारेज गरेको छ ।

३. सबै निराशाहरुको केन्द्रीकरण– वास्तवमा सबै दल, समूह र समुदायका अधिकांश निराशाहरुको केन्द्रीकरण रास्वपा र बालेन वरिपरी केन्द्रीकरण भएको देखिन्छ ।

४. बालेन क्रेज र रास्वपाको एकता– राष्ट्रिय स्वतन्त्र पार्टी मात्र एउटा त्यस्तो पार्टी हो जहाँ पार्टी सभापति निरीह र वरिष्ठ नेता सर्वोपरि छन् । हुनपनि पार्टी एकता हँुदा बालेनले पार्टी सभापति खोजेनन तर प्रधानमन्त्री छोडेनन । परिस्थितिले उनलाई धेरै नै वा चमत्कारिक साथ दिएको छ । उनले जे चाहयो त्यो पूरा भयो । कसैले उनको ग्रहदशा वा भाग्य निकै बलियो भएको घोषणा गरेका छन् । चुनाव लड्न उनलाई पार्टी चाहिन्थ्यो नै त्यसकारण मात्र रास्वपासँग उनको एकता भयो । मेरो बिचारमा यो एकता अत्यन्तै रहस्यमयी तर कलात्मक थियो ।

५. गोप्य अनि मौन रणनीति– बालेन अब के गर्दैछन्, त्यो पुराना दललाई थाहा नै हुँदैन । उनी बोल्दैनन तर कुनैनकुनै उथलपुथल गरिरहन्छन । एकपछि अर्को शान्त पोखरीमा ढुङ्गा हानिरहन्छन र वातावरणलाई तरङ्गित बनाईरहन्छन । न सम्बोधन, न भाषण न गालिगलौज यो उनको शैली ।

६. अति क्रेज, अति विश्वास र देवत्वकरण– खासगरी युवाहरुमा बालेनक्रेज एकातिर लोभलाग्दो र अर्कोतिर डरलाग्दो छ । बिनाकारण उनीप्रतिको आशक्ती र देवत्वकरण छ । पहिला–पहिला मोहनी लगाउछन भन्ने सुनेको थिएँ, त्यस्तै भएको छ । व्यक्ति प्रधान अरु फिका भएका छन् । मेरो चिन्ता त यदि उनले कुनै ध्यानकेन्द्र, धर्म समूह खोलेर आपूmलाई भगवान वा ईश्वरको घोषणा गरेभने त नेपालमा सबैभन्दा बढी उनकै पुजा हुनेछ जस्तो ।

७. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री– हुन त उनी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री होइनन तर उनको कार्यशैली र सपना त्यही नै छ । संसदमा भएको सुविधाजनक बहुमतले उनको अचेत चाहनालाई पूरा गरिदिएको छ । सायद उनले संविधान संशोधन गरेर अर्को चुनावमा त्यो सपना पूरा गर्ने लक्ष राखेका छन् ।

८. वास्तवमा त्यत्रो राजनीतिक घटना घट्यो तर उनीहरू प्रतिक्रियाविहिन बने । युद्ध हारेको सिपाही जस्तै सबै लत्र्याकलुत्रुक बने । संसद गुमाए, सरकार गुमाए, नयाँ अन्तरिम सरकारमा प्रतिनिधित्व नै भएन र पनि उनीहरू एकथान संविधान अनि राष्ट्रपति जोगाउन सकेकोमा मख्ख परेर चुनावमा गए । यसमा मुख्य रोल वा भूमिका सेनाको थियो । सेनाले मध्यस्थता गरेको नाटक गरेर दलहरूलाई दबाबमा राख्यो । नत्र सबै जेल जानुपर्नेपुराना दल, पुरानै पुराना थिएन । दलहरु नै संसद विघटन र नयाँ चुनावका लागिआनीबानी र आत्मसमर्पणवादी चेतना– यदि प्रस्तावक बनिदिए । जेन–जी विद्रोहलाई पनि दलहरूले नै नयाँ ढंगले सम्बोधन गर्न सक्थे विद्रोही चेतनादलमा हुन्थ्यो भने संसद विघटन संभव नै । पुरानाहरु अझैसम्म पनि एकआपसमा लड्दै र सिउँरी खेल्दै हिडेका छन् । पुराना दलको अलोकप्रियता, अनेकता, यथास्थितिवादी चिन्तन पनि बालेन नेतृत्वकालागि अवसर बने । भय वा मनोवैज्ञानिक त्रास नै नयाँ सरकारका लागि मुख्य अवसर बन्यो । चलाउनुपर्ने अवस्था

९. बालेन सरकारका मुख्य ३ चुनौती ः

बालेन सरकारको मुल प्रवृत्ति निर्दलीय, फाँसिवादी र लोकप्रियतावादी हो । त्यसकारण यो व्यवस्थाको मेरुदण्ड पुराना दल नै हुन भन्ने कुरामा स्पष्ट छ । पुराना दलहरुबीचको एकता र मोर्चाबन्दी भएमा त्यो नै सरकारका लागि सबैभन्दा ठुलो चुनौती हुनेछ । दुईतिहाई त हिजो उनीहरूसँग पनि थियोे र त्यो ढलेको घाउ ताजै छ । कुनै मुद्दामा उनीहरु एक भएर सरकार ढाल्ने आन्दोलन भएमा त्यो सबैभन्दा चुनौती बन्न सक्छ । दोस्रो ठुलो खतरा वा चुनौती सरकारको असन्तुलित परराष्ट्रनीति बन्न सक्छ । अपरिपक्व कूटनीति र असन्तुलित परराष्ट्रनीति सरकारका लागि अर्को गंभिर चुनौती बन्न सक्छ । तेस्रो चुनौतीका रुपमा संभावित सुकुम्बासी बिद्रोह बन्न सक्छ । नेपालको भूमिसम्बन्धी समस्या अलि संवेदनशील, ऐतिहासिक र गिजोलिएको समस्या हो । बालेन सरकारले जब काठमाडाँैलगायतका केही ठाउँका सुकुम्बासी बस्तीहरुमा डोजर चलायो । तब देशैभरि बिद्रोह हुने अवस्था बन्यो । सत्तारुढ दल रास्वपाले आकस्मिक बैठक नै बोलाएर वातावरणलाई केही मत्थर पार्न सफल भएपनि देशैभर सुकुम्बासी बिद्रोहको वातावरण बन्ने संभावना ताजै छ । आज बालेन सरकारका विरुद्ध सडकबाट हुँकार गर्ने शाहस सुकुम्बासीले मात्र गरेका छन् । बालेन सरकारले सुकुम्बासी बस्तीहरुमा डोजर लगाउँदै गर्दा थुप्रै रास्वपा सांसदहरूले सरकारी जग्गा मिचेर बनाएका घरहरुको सूची नै बाहिर आउने क्रममा छन् । डोजर लगाएर सुकुम्बासी समस्याको समाधान हुँदैन । विगतमा पनि पटक–पटक डोजर लगाएर पछाडि हट्नुपरेका तथ्य र कारण बुझ्नु उपयुक्त हुन्थ्यो । डोजर र बल प्रयोगबाट समस्याको हल खोज्ने प्रवृत्तिलाई हास्यास्पद मान्नुपर्छ । नेपालीमा एउटा उखानै छ नि– केटाकेटी आए, गुलेली खेलाए र गए । केही मान्छेलाई भ्रम दिन त यो विधि काम लाग्ला अन्यथा यसले समस्यालाई झनै गिजोल्छ । निष्पक्ष ढंगले खोज्दै जाने हो भने भोलि बालेनले आफ्नै घरमा डोजर चलाउनुपर्ने हुनसक्छ ।

प्रतिक्रियाहरु

[anycomment]