आठ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसद्अन्तर्गत आज आठ वटा संसदीय समितिको बैठक बस्दैछ । विभिन्न समितिका बैठकमा बजेट कार्यान्वयन, मन्त्रालयगत कार्यसम्पादन, सडक सुरक्षा, शिक्षा, सामाजिक मामिला लगायत विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ ।
बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयबाट भए गरेका कामकारबाही तथा आगामी कार्ययोजनाबारे छलफल हुनेछ । साथै चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन अवस्था र आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे पनि समीक्षा गरिनेछ ।
उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा विषयगत उपसमिति गठनका विषयमा छलफल हुने जनाइएको छ ।
पूर्वाधार विकास समितिको बैठकमा सडक सुरक्षा तथा मनसुनका समयमा सवारी व्यवस्थापनको विषयमा छलफल गरिनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा मधेशी आयोगका पदाधिकारीहरूसँग आयोगको कामकारबाहीबारे छलफल गरिने कार्यसूची रहेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे छलफल हुनेछ ।
सार्वजनिक लेखा समितिको बैठकमा समितिसम्बन्धी प्रस्तुतीकरण हुने जनाइएको छ । यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा भूमिहीन नागरिकलाई अस्थायी रूपमा राखिएको होल्डिङ सेन्टरको अनुगमनसम्बन्धी विषयमा छलफल हुनेछ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने गण्डकी प्रदेशमा गरिएको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन मस्यौदामाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
