राजश्व संकलनमा ७.४ प्रतिशतले वृद्धि

२०८३ असार ३२ गते, बिहीबार


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२÷८३ सकिन एक दिनमात्रै बाँकी रहँदा सरकारले कुल लक्ष्यको करिब ८३ प्रतिशत राजश्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयकाअनुसार असार ३१ गतेसम्ममा सरकारले कुल १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व उठाएको हो। यो संकलन सरकारले चालु वर्षका लागि तय गरेको कुल १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक लक्ष्यको ८२.७६ प्रतिशत हुन आउँछ। विगतको तुलनामा यसवर्ष राजश्व संकलनमा सुधार देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्ष २०८१÷८२ को असार ३१ गतेसम्म सरकारले ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँमात्र राजश्व संकलन गर्न सकेको थियो।
यस हिसावले गतवर्षको सोही अवधिको तुलनामा यसपालि राजस्व संकलन ७.४० प्रतिशत अर्थात ८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँले वृद्धि भएको नियन्त्रक कार्यालयले जनाएको छ। प्राप्त कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा कर राजस्वको रहेको छ। बुधवारसम्म ११ खर्ब ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर राजस्व संकलन भएको छ। जुन लक्ष्यको ८३.४३ प्रतिशत हो।
त्यस्तै गैरकर राजस्वतर्फ १ खर्ब १८ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। यो कुल गैरकर राजस्व लक्ष्यको ७६.९९ प्रतिशत हो। गतवर्षको तुलनामा यसवर्ष कर राजस्व ७.३४ प्रतिशत र गैरकर राजस्व ८.०२ प्रतिशतले बढेको देखिन्छ।
त्यसैगरी अनुदान प्राप्तिको अवस्थामा पनि यसवर्ष उल्लेख्य सुधार आएको छ। चालु वर्षमा सरकारले कुल ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असार ३१ गतेसम्म ५८.५ प्रतिशत अर्थात् ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ प्राप्त भएको छ। यो गत वर्षको तुलनामा ३४.७५ प्रतिशतले बढी हो। गत वर्ष यसै अवधिसम्म सरकारले जम्मा २३ अर्ब २० करोड १६ लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो।
आर्थिक वर्षको अन्तिमतिर राजश्व संकलन तिब्र हुने परम्पराअनुसार बुधवार एकै दिन मात्रै सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजश्व उठाएको छ। जसमा १८ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ कर राजश्व रहेको छ। आज आर्थिक वर्षको अन्तिम दिन भएकाले थप राजश्व संकलन भई कुल संकलनको दर अझै बढ्ने अनुमान गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु