लेवल नभएका फुटवेयर विक्री गरे कारबाही

२०८३ श्रावण २ गते, शनिबार


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेवल नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत)उत्पादनका भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो चेतावनी दिएको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ मा उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा ऐनले तोकेबमोजिमको लेवल लगाउनुपर्ने, दफा ८ मा पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमका सर्त पूरा गर्नुपर्ने र दफा ११ वस्तु बिक्री गर्ने बिक्रेताको दायित्वलगायतका कानुनी प्रावधान बमोजिम उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ ।
शुक्रबार सूचना जारी गर्दै विभागले सम्बन्धी सबै उत्पादक पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोकेबमोजिमको दायित्व तथा सर्त बन्देज परिपालना गरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन सूचित गरेको छ । उल्लेखित कानुन विपरितकार्य भए गरेको पाइएमा कानुन बमोजिम कडाभन्दा कडा कारबाही हुने व्यहोरासमेत सम्बन्धित सबैलाई विभागले जानकारी गराएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु