चितवन मेडिकल कलेजको आइसीयू तोडफोड !

२०७९ आश्विन १९ गते, बुधबार


काठमाडौं । चितवन मेडिकल कलेज (सिएमसी) मा तोडफोड भएको छ । बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् । तोडफोडबाट लाखौँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसियु कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भीडले आइसियु कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताए ।
‘धेरै बिरामी उपचार भइरहेको बेलामै संवेदनशील कक्षमा तोडफोड हुनु निन्दनीय छ, तोडफोडबाट लाखौँको क्षति भएको छ, चिकित्सक तथा नर्सहरूमाथि समेत हातपात भएको छ”, देवकोटाले भने , “संवेदनशील क्षेत्रमा यस्तो हर्कत हुनुमा सरकार गम्भीर हुनुपर्छ ।”

अहिले अस्पतालमा बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको छ । भरतपुर–१३ का ३६ वर्षीय रमेश कुँवरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । उनलाई प्याङ्क्रियाटाइटिस र उच्च रक्तचापको समस्या भएर अस्पताल लगिएको थियो । अस्पतालले उपचार गर्न सेन्ट्रल भेन खोलेर औषधि दिएको बताएको छ । त्यसलाई आफन्तहरूले घाँटीको शल्यक्रिया भन्दै तोडफोडमा उत्रिएको बताइएको छ । घटनाबारे अस्पताल प्रशासनबीच छलफल चलिरहेको बेला केही समूहले अस्पतालमा तोडफोड गरेका हुन् ।

तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिरामीको मृत्युको सम्बन्धमा अस्पताल प्रशासनसँग वार्ता भइरहेको बेला अराजक समूहले तोडफोड गरेको जनाएको छ । तोडफोडमा संलग्नहरू गाडी रिजर्भ गरेर आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु